Friday, May 1, 2026

घ्याङलेखमा कक्षा ३ को तामाङ मातृभाषा पाठ्यपुस्तक लेखनका लागि शिक्षक तालिम

सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कक्षा ३ को तामाङ मातृभाषा पाठ्यपुस्तक लेखनका लागि शिक्षक तालिम सञ्चालन भइरहेको छ ।

घ्याङलेख गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल तामाङ घेदुङ सिन्धुलीको आयोजना वैशाख १५ गतेदेखि सुरु भएको उक्त तालिम भोली सम्म सञ्चालन हुने छ । गाउँपालिकामा तामाङ मातृभाषा शिक्षालाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो ।

मातृभाषाको संरक्षण, संवद्र्धन, उत्थान र विकास गर्नुका साथै नयाँ पुस्तालाई आफ्नै भाषा, संस्कृति, परम्परा र पहिचानसँग जोड्नका लागि बिद्यालयस्तर देखि नै तामाङ मातृभाषा पठनपाठनका लागि जोड दिइएको आयोजकले बताएका छन् । विगत तीन वर्षदेखि घ्याङलेख गाउँपालिका मातहतका सामुदायिक विद्यालयहरूको कक्षा १ र २ मा तामाङ मातृभाषा विषय पठनपाठन हुँदै आइरहेको छ ।

यस अभियानको निरन्तरतालाई कायम राख्दै कक्षा ३ का लागि समेत पाठ्यपुस्तक निर्माण प्रक्रिया अघि बढाइएको र आउने जेठ १५ गतेभित्र पाठ्यपुस्तक लेखन तथा निर्माण कार्य सम्पन्न गरी गाउँपालिका भित्रका विद्यालयहरूमा वितरण गरिने आयोजकले जानकारी गराएको छ ।

तामाङ मातृभाषा पाठ्यपुस्तक लेखन तालिममा तामाङ भाषा लेखक तथा प्रशिक्षक प्रतीक ङेसुर तामाङ, दर्पण भ्लोन तथा नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष सुरद बहादुर स्याङतान (बृहत) ले सहजीकरण गर्दै आउनुभएको छ । तालिमको सुरुवाती दिन देखि नै गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको उत्साहजनक एवम् सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

Hot Topics

Related Articles