Thursday, April 30, 2026

आचारसंहिता उल्लघन गरेर चुनावी प्रचार प्रसारमा जनप्रतिनिधि

सिन्धुली – सिन्धुलीका स्थानिय तहका जनप्रतिनिधि चुनावी प्रचारप्रसारको दौडधुपमा व्यस्त भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्थानीय तहका कार्यपालिका पदाधिकारी र सदस्यहरू निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रसारप्रसारको दौडधुपमा व्यस्त भएका हुन् ।

निर्वाचन आचारसंहिता विपरीत स्थानीय तहका जनप्रतिनिधि (कार्यपालिका पदाधिकारी र सदस्य)हरू आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्ने अभियानमा होमिएका छन् ।

निर्वाचन आयोगले असोज २६ गते विज्ञप्ति प्रकाशित गरी निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने साथै आफू निर्वाचित भएका स्थानीय तह बाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचार गर्न चाहे सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी आचारसंहिता प्रतिकुल नहुने गरी संलग्न हुन सकिने व्यवस्था गरेको जनाएको छ । तर, जिल्लाका अधिकांश स्थानीय तहका कार्यपालिका सदस्यहरू आफू आवद्ध राजनीतिक दलको उम्मेदवारको प्रचारप्रसारमा सरिक छन् ।

जनप्रतिनिधिले आफ्नो फेसबुक पेजमार्फत खुलेआम आफ्ना दललाई मत मागिरहेका छन् । अधिकाश जनप्रतिनिधिले आफ्नो क्षेत्रमा प्रत्यक्ष जनतालाई भेटेर आफ्ना दललाई मत मागेको स्थानियले बताएका छन् ।

आयोगले स्थानीय तहको कार्यपालिका पदाधिकारी र सदस्यहरूले निर्वाचत आचारसंहिता विपरीत कार्य गरेको पाइए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कारबाही गर्न स्पष्टीकरण सोधी तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख)लाई निर्देशन दिएको छ ।

कारबाही प्रक्रिया अघि बढाउन आवश्यकता अनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यालयले आवश्यक सहजीकरण र सहयोग गर्ने जनाइएको छ ।

Hot Topics

Related Articles