सिन्धुली — रातीको समयमा बीपि राजमार्ग सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
प्रि–मनसुनका कारण बढ्दो वर्षा र बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपि राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज एक सूचना प्रकाशन गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारी साधन आवागमन निषेध गरिएको जानकारी दिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन बमोजिम बीपि राजमार्गको सिन्धुली र काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा रोशी खोलामा बाढी आई बाटो अवरुद्ध हुने गरेको हुनाले वैशाख २२ गतेदेखि अर्को सूचना जारी नभएसम्म रातीको समयमा बीपि राजमार्ग बन्द हुने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
साथै मौसम र रोशी खोलाको अवस्थाअनुसार आवश्यक परे जुनसुकै समयमा पनि सडक अस्थायी रूपमा बन्द गर्न सकिने जनाइएको छ । यात्रा अघि सडकको अवस्था बुझ्न प्रशासनले प्रहरीको र आपतकालीन सम्पर्क नम्बरमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।



