Wednesday, May 6, 2026

घ्याङलेखमा एकीकृत घुम्ती शिविरः एक हजार बढी लाभान्वित

सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकामा भएको एकीकृत घुम्ती शिविर मार्फत एक हजार भन्दा धेरै लाभान्वित भएका छन् ।

सोमबार र मंगलबार जिल्लाको घ्याङलेख गाउँपालिकाको वडा नम्बर ४ र ५ मा सञ्चालन गरिएको घुम्ती शिविर मार्फत १ हजार १ सय २१ जनाले सेवा लिएका थिए । ‘स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पूर्वाधार, घ्याङलेखको समृद्धिको आधार’ भन्ने अभियान सहित गाउँपालिकाले दुई वटा वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो ।

नागरिकको सेवा सुविधा र आवश्यकतालाई ध्यानमा राख्दै गाउँपालिकाले स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण, कृषि तथा पशुपन्क्षी सम्बन्धी सेवा, आयुर्वेद सेवा, जेष्ठ नागरिक परिचयपत्र वितरण जस्ता सेवाहरु सञ्चालन गरेको थियो । गाउँपालिकाको अनुसार विभिन्न प्रशासनिक सेवा, योजना सम्बन्धीत सेवा, राजश्व तथा व्यवसाय दर्ता सम्बन्धी सेवा, बायोमेट्रिक (सामाजिक सुरक्षा) लगायतका सेवाहरु पनि उक्त शिविरमा समावेश गरिएको थियो ।

सोमबार गाउँपालिकाको ५ नम्बर वडामा सञ्चालन गरिएको शिविरमा १ सय ४६ जनाले कृषि सेवा, १ सय १४ जनाले पशु उपचार सेवा, १ सय ११ जनाले आयुर्वेद उपचार सेवा लिएका थिए । २७ जनाको खकार जाँच, ३४ जनाको भिआईए जाँच गराइएको थियो भने ९६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । साथै सोमबारको शिविर मार्फत ५ नम्बर वडाको १३ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण संगै अन्य २ जनालाई प्रशासनिक सेवा पनि उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै गाउँपालिकाको अनुसार यता ४ नम्बर वडामा भने मंगलबार शिविर सञ्चालन गरिएको थियो । जुन शिविरमा २ सय ६ जनाले कृषि सेवा, १ सय २० जनादे पशु उपचार सेवा, १ सय २५ जनाले आयुर्वेद उपचार सेवा लिएका थिए । ३० जनाले खकार जाँच, २५ जनाले भिआईए जाँच गराएका थिए भने ६७ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । साथै ३ जनाले ज्येष्ठ नागरिक परिचयपत्र प्राप्त गरेका थिए भने २ जनाले अन्य प्रशासनिक सेवा लिएका थिए ।

गाउँपालिकाले यसप्रकारको शिविर समय समयमा सञ्चालन गर्दै आइरहेको छ । घुम्ती शिविरले समयको वचत संगसंगै धेरै कुरामा सहजता प्रदान गरेको बताउदै सेवाग्राहीहरुले खुशी व्यक्त गरेका छन् ।

Hot Topics

Related Articles