आस्था बिश्वकर्मा, सिन्धुली– जिल्ला प्रशासन कार्यालय सिन्धुलीले चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनाको अवधिमा राहदानी बनाए बापत साँढ़े तीन करोड़ भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले राहदानी बनाए बापत चालु आर्थिक वर्ष २०८१÷०८२ को जेठ मसान्तसम्म ३ करोड ७८ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

११ महिनाको अवधिमा ७ हजार ३ सय १६ वटा राहदानी पेस भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साधारण सिफारिस लिनेमा ४ हजार ५ सय ८२ जना पुरुष, २ हजार ३ सय ५९ जना महिला र ६२ जना नाबालक गरि जम्मा ७ हजार ३ जना रहेका छन् ।

त्यस्तै जेठ मसान्त सम्म ३ सय १३ वटा द्रूत राहदानी सिफारिस गरिएको कार्यालयले जनाएको छ । उक्त समयमा सिफारिस गरिएको राहदानी मध्ये ६ हजार २ सय ५६ वटा राहदानी जिल्लाबाटै वितरण गरिएको छ । राहदानी बनाए बापत साउनमा ४७ लाख २५ हजार, भदौमा ३५ लाख ४५ हजार, असोजमा १ लाख ८८ हजार संकलन भएको छ । त्यस्तै कात्तिक महिनामा ५३ लाख १० हजार राजस्व संकलन भएको छ जुन चालु आर्थिक वर्षको ११ महिनाको अन्तरालमा सबै भन्दा बढी संकलन भएको राजस्व रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसैगरी मंसिरमा १२ लाख ५५ हजार, पुसमा ४९ लाख ७० हजार, माघमा ३३ लाख ५३ हजार, फागुणमा २८ लाख ११ हजार ७ सय ५०, चैतमा २८ लाख ६२ हजार ५ सय संकलन गरिएको छ । साथै बैशाख महिनामा २९ लाख १३ हजार र जेठमा ४० लाख ३८ हजार ७ सय ५० रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

दैनिक रुपमा राहदानी बनाउने र विदेशीनेहरुको संख्या बढिरहेको छ । बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पनि देश छोड्ने युवाहरुको संख्या दिनानुदिन बढिरहेको देखिन्छ । सिन्धुलीको तथ्यांक हेर्नेहो भने पनि राहदानी बनाउनेहरुको संख्या बढिरहेको छ । तीनै तहका सरकारले युवा स्वरोजगारको क्षेत्रका करोडौँ लगानी गरिरहेका छन् । तथापि विदेशीने युवाहरुको संख्या घट्न सकेको छैन ।


