Friday, April 17, 2026

तथ्यांकमा उकालो लाग्दै आत्महत्याका घटनाहरु, चिकित्सक भन्छन्–सबै क्षेत्रमा काउन्सेलिङ सेवा सन्चालन गर्नुपर्छ

आस्था विश्वकर्मा

सिन्धुली – देशमा आत्महत्याका घटनाहरु दिनानुदिन बढिरहेका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार पनि पछिल्ला तीन वर्षको समग्र तथ्यांक हेर्दा यही देखिन्छ ।

तथ्यांकले भन्छ ‘अहिले पनि नेपालमा दैनिक १८/२० जनाले आत्महत्या गर्छन् ।’ यसका कारणहरु एक वा दुईमा सिमित छैनन् । युवाहरुमा १५ देखि २९ वर्ष अति जोखिम मानिन्छ भने बयस्कहरुमा २० देखि ४५ वर्षको उमेर अति जोखिम मानिने गरेको छ ।

देशमै आत्महत्याका घटनाहरु बढिरहेका तथ्यांक सार्वजनिक भैरहेका बेला सिन्धुली पनि यसबाट अछुतो छैन । यहाँ आत्माहत्याको शिलशिला अझै पनि उस्तै रहेको देखिन्छ । आत्महत्या न्यूनिकरणको लागि सम्बन्धित निकायहरु मार्फत सिन्धुलीमा विभिन्न सचेतनामूलक कार्यक्रम तथा क्रियाकलापहरु सञ्चालन भैरहेका छन् । तथापि घटनाहरु अपेक्षाकृत रुपमा न्युन हुन सकेका छैनन् । आत्महत्याका कारणहरु भूगोल अनुसार केहि फरक भएता पनि अधिकांस साझा कारणहरु देखिन्छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा रहेको गएको दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको तथ्यांकलाई आधार मान्ने हो भने आत्महत्याको क्रम न्युन भएको देखिँदैन । आर्थिक वर्ष २०८२/२०८३ को ८ महिनाको अवधिमा मात्रै ४९ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको साउन देखि फागुन महिनासम्मको तथ्यांकले यो अवस्था चित्रण गरेको छ ।

नौ वटा स्थानीय तहको तथ्यांक हेर्दा कमलामाई नगरपालिकामा १५ जना, दुधौली नगरपालिकामा ११ जना, गोलन्जोर गाउँपालिकामा ४ जना र घ्याङलेख गाउँपालिकामा ५ जनाले आफ्नो आत्मदह गरेका छन् । त्यसैगरी तीनपाटन गाउँपालिकामा ४ जना, फिक्कल गाउँपालिकामा १ जना, मरिण गाउँपालिकामा ३ जना, सुनकोशी गाउँपालिकामा २ जना र हरिहरपुरगढी गाउँपालिकामा ४ जनाले आत्महत्या गरेका छन् । जिल्लाको सदरमुकाम मानिने कमलामाई नगरपालिकामा आत्महत्याको घटना हालसम्मकै उच्च देखिन्छ ।

यहाँ ८ महिनाको अन्तरालमा देहत्याग गर्ने ४९ जना मध्ये ३० जना पुरुष, १५ जना महिला, ३ जना बालक र १ जना बालिका रहेको उपलव्ध तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरि गएको दुई आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा आर्थिक वर्ष २०८१/०८२ मा ७७ जना र आर्थिक वर्ष २०८०/०८१ मा ८० जनाले आत्माहत्या गरेका थिए । प्रहरीसम्म आइपुगेका यी तथ्यांक त यति डरलाग्दा छन् भने विविध कारणले प्रहरीसम्म आउन नसकेका या आइपुग्न नपाएका आत्महत्याको संख्या अरु थपीन सक्ने देखिन्छ ।

समाज जति नै चेतनशील भएको र आधुनिक भएको भनिएता पनि सामाजिक झन्झटमा परिने डरले यस्ता सवै घटनाहरु अझै पनि प्रहरीसम्म आउन सक्दैनन् । कानूनी झमेलामा परिने हुनाले घरमै भएको घटनालाई पनि लुकाइने गरेका यथार्थहरु अझै जिवित छन् । जसकारण आत्महत्याको संख्या घट्नुको सट्टा अप्रत्यक्ष रुपमा यसले बढ्नका लागि मद्दत गरिरहेको बुझ्न सकिन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अनुसार कसैलाई आत्महत्या गर्न बाध्य पारेमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ । तथापि सिन्धुलीमा भने कसैलाई आत्महत्या गर्न बाध्य बनाउने भन्दा पनि आफू स्वयमले नै आत्महत्या गर्ने गरेको तथ्यांकले देखाउँछ ।

जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सूवेदीका अनुसार मानिसले आत्महत्या गर्नुका प्रमुख कारण मध्ये प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानसिक, आर्थिक, शारिरीक, सामाजिक र पारिवारीक पक्षहरु जोडिएका छन् । परिवारको आर्थिक अवस्था कमजोर, ऋण, गरिबी, प्रेममा धोका, मानसिक स्वास्थ्य ठिक नहुनु, दिर्घकालिन रोगले थलिएर धेरै पिडा खेप्नु, घरेलु हिंसा, प्रविधिको गलत प्रयोग, पढाईको चाप, भविष्यको चिन्ता, घर परिवार, विभेद तथा पारिवारीक कलह लगायतका अन्य कारणहरुले गर्दा मानिसले अकालमै ज्यान गुमाएका छन् । सिन्धुलीको परिप्रेक्ष्यमा हेर्दा अधिकांस आत्महत्या झुन्डिएर गरिएका छन् भने विष सेवनबाट पनि धेरैले आत्महत्या गरेका छन् ।

विभिन्न सरकारी तथा गैरसरकरी सँस्थाहरुले यस्ता घटनाहरु न्युनिकरण गर्न विविध सचेतनामूलक कार्यक्रमहरु सन्चालन गरिरहेका पनि छन् । तर यो पर्याप्त देखिँदैन र प्रभावकारी पनि अपेक्षा अनुसारको भएको परिणामले देखाउँदैन । यसको न्युनिकरणका लागि सम्वन्धित विज्ञ तथा चिकित्सकहरुले उपायहरु समेत औँल्याएका छन् । विद्यालय र समुदायमा काउन्सेलिङ सेवा विस्तार गर्ने, स्थानीय तहहरुले बजेट विनियोजन गरेर सचेतनामूलककार्यक्रम सन्चालन गर्ने र मानसिक स्वास्थ्य सम्वन्धमा खुला रुपमा कुरा गर्नसक्ने वातावरण निर्माण गर्न सवै एकजुट हुने लगायतका उपायहरु अबलम्वन गर्नसके यो तथ्यांक न्युन हुनसक्ने विज्ञहरुको सुझाव छ ।

Hot Topics

Related Articles