Thursday, May 7, 2026

मरिणमा बाली उपचार शिविर सञ्चालन हुने

सिन्धुली — सिन्धुलीको मरिण गाउँपालिकामा बाली उपचार शिविर सञ्चालन हुने भएको छ ।

गाउँपालिकाले बुधबार एक सुचना प्रकाशन गर्दै कृषकहरूले भोगिरहेका बाली रोग तथा किराको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ बाली उपचार शिविर सञ्चालन गर्न लागेको जानकारी दिएको हो । मरिण गाउँपालिकाद्धारा आयोजित उक्त शिविर बैशाख ३१ गते देखि जेठ ६ गतेसम्म पालिकाको विभिन्न वडाहरुमा सञ्चालन हुने छ ।

गाउँपालिकाको अनुसार बेशाख ३१ गते १ नम्बर वडामा, जेठ १ गते २ नम्बर वडामा, ४ गते ३ नम्बर वडामा शिविर सञ्चालन हुने छ । यसैगरी जेठ ५ गते ४ नम्बर वडामा र ६ गते गाउँपालिकाको ५, ६ र ७ नम्बर वडामा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । शिविर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ ।

उक्त शिविरमा कृषकहरूले रोग तथा किरा लागेका बोटबिरुवाहरू ल्याई प्राविधिक परामर्श तथा सेवा लिन सक्ने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै शिविरका क्रममा कृषकहरूलाई बाली रोग तथा किराको नियन्त्रण सम्बन्धी जानकारी दिनुका साथै माटो परीक्षणका लागि नमुना संकलन गर्ने तरिका पनि सिकाइने छ । पालिकाले सम्पूर्ण वडाका कृषकहरूलाई शिविरमा सहभागी भई सेवा लिन आग्रह गरेको छ ।

Hot Topics

Related Articles