Friday, April 17, 2026

धनुषामा नेपालकै पहिलो ठूलो जैविक मल कारखाना स्थापना हुने

जनकपुरधाम । धनुषामा जैविक मलको कारखाना स्थापना हुने भएको छ । निजी क्षेत्रको प्रयासमा जिल्लाको धनुषाधाम नगरपालिका वडा नंं ३ मा २८ करोडको लागतमा कारखानाको निर्माण हुने भएको छ ।

रासायनिक मलप्रति निर्भरता घटाउन तथा स्वदेशमा पाइने सामाग्रीहरूको प्रयोग गरेर बनाइने जैविक मल उत्पादन गर्ने कारखाना खेतका लागि निक्कै उपयोगी हुने विश्वास प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीको रहेको छ ।

आरोही फर्टिलाईजर प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको सो जैविक मल कारखाना १ वर्ष भित्रमा सञ्चालन गर्ने गरी निर्माण अगाडी बढाइने सम्बन्धित उद्योगीले जानकारी दिनुभएको छ ।

नेपाल तथा दक्षिण एसियाकै सबै भन्दा ठूलो एवं प्रमुख जैविक मल उत्पादन हुने सो कारखानाले पहिलो वर्षमा ७ हजार ५ सय मेट्रिक टन उत्पादन गर्ने कारखानाका सञ्चालक अङ्गकमल लामाले जानकारी दिनुभयो । यसको क्षमता बिस्तारै बढाउँदै लाने पनि उहाँले बताउनुभयो । जैविक मल कारखानाको निर्माण भएपछि यस क्षेत्रका करिब १ सय जनाले रोजगार पाउने भएका छन् ।

नयाँ बन्न लागेको कारखानाको शिलान्यास प्रदेश नंं २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह र सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले संयुक्त रुपमा गर्नुभयो ।

कार्यक्रममा प्रदेश नंं २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। सम्झना कुमारी काफ्ले पाण्डे, अगुवा किसान मनोहर प्रताप मल्ल सहितका स्थानीयवासी उपस्थित हुनुहुन्थ्यो ।

Hot Topics

Related Articles