Friday, April 17, 2026

आत्महत्याको संवेदनशील रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण

सिन्धुली – सिन्धुलीमा आत्महत्याको संवेदनशील रिपोर्टिङ सम्बन्धी संचारकर्मीहरुसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा शुक्रबार आत्महत्या जस्तो संवेदनशील विषयको समाचार सम्प्रेषणलाई मर्यादित, जिम्मेवार र तथ्यपरक बनाउने उद्देश्यले संचारकर्मीहरुसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रमको सहजीकरण गर्नुहुँदै स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका मनोविद अधिकृत एभोन श्रेष्ठले आत्महत्याको परिचय, आत्महत्या गर्ने व्यक्तिले अग्रिम रुपमा देखाउने लक्षण, आत्महत्या जस्तो संवेदनशिल विषयलाई पत्रकारहरुले कस्तो तरिकाले बाहिर ल्याउने, आत्महत्या सम्बन्धी बिषयवस्तु समेट्दा डिजिटल संचार माध्यमले ध्यान दिनुपर्ने पक्षहरु, आत्महत्या सम्बन्धी समाजमा स्थापित गलत धारणा र बास्तविकता लगायतका बिषयहरु साझा गर्नुभएको थियो ।

साथै उहाँले नेपालमा करिब ७ हजार जनाको आत्माहत्याको कारण मृत्यु हुने गरेको जुन प्रतिदिन करिब १९ जनाको मृत्युदरको संख्या रहेको बताउनुभयो । बेलामै ध्यान पुर्याउन सके आत्महत्याको रोकथाम गर्न सकिने मनोविद अधिकृत श्रेष्ठले बताउनुभयो ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीका कार्यालय प्रमुख बिमल पटेलले आत्महत्या सम्बन्धी समाचारमा प्रयोग गर्न उपयुक्त तथा अनुपयुक्त शब्दहरु समावेश गर्ने र पीडित र उनका परिवारको गोपनीयता संरक्षण गरेर मात्र समाचार प्रकाशन गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा वक्ताहरूले समाचार माध्यमले समाजमा पार्ने प्रभावलाई ध्यानमा राख्दै आत्महत्या सम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्दा संवेदनशिलतालाई विषेश ध्यानमा राखिएको बताएका छन् ।

Hot Topics

Related Articles