सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकामा किशोर–किशोरी लक्षित आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ ।

ग्रामीण क्षेत्रका युवापुस्तालाई प्रविधिमैत्री बनाउने तथा डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ गाउँपालिकामा आजबाट तालिम सुरु गरिएको हो । घ्याङलेख गाउँपालिकाको आयोजना तथा आई.टि.एम. हव प्रा.लि. सिन्धुलीको सहजिकरणमा सञ्चालन भएको ४५ दिने तालिम श्री नेत्रकाली माध्यमिक विद्यालय, आँपडाँडा रामपुरमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार तालिममार्फत सहभागीहरूलाई कम्प्युटरको आधारभूत ज्ञान, डिजिटल साक्षरता तथा सूचना प्रविधि सम्बन्धी व्यवहारिक सीप प्रदान गरिने छ । ग्रामीण क्षेत्रका किशोर–किशोरीहरूमा प्राविधिक ज्ञान र सीप विकास गराउँदै भविष्यमा रोजगारी तथा आत्मनिर्भरताका अवसर सिर्जना गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास व्यक्त गरेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल, वडा नं. ५ का कार्यवाहक वडा अध्यक्ष बसन्त नारायण वाईबा, नेत्रकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसुधन सापकोटा, गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा तालिममा सहभागी विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।


