आस्था विश्वकर्मा,
सिन्धुली – सिन्धुलीको हरिहरपुगढी गाउँपालिकामा बिहिबार ख्रीष्टमस शुभकामना आदन प्रदान कार्यक्रम गरिएको छ । मावन जातिको महान मुक्तिदाता प्रभु येशु ख्रीष्टको जन्म उत्सवको अवसरमा ईसाइ एकता समाज मरिण र ईसाइ एकता समाज हरिहरपुरगढी गाउँपालिकाको संयुक्त आयोजनामा आज हरिहरपुरगढी २ चैनपुर बजारमा कार्यक्रम गरिएको हो ।

आजभन्दा दुई हजार वर्ष अगाडि समस्त मानव जातीहरुलाई पापबाट उद्धार र मुक्ति दिनको लागि येशुख्रीष्ट यस संसारमा आउनुभएको खुसीयालीको अवसरमा संसारभर नै डिसेम्बर २५ तारिखमा ख्रीष्टमस मनाईने गरिन्छ ।

कार्यक्रममा प्रमुख वक्ता कमल अधिकारीले पवित्र धर्मशास्त्र बाइबल मार्फत प्रभु येशु ख्रीष्टको जन्मको विषयमा चर्चा गर्नुभएको थियो । येशुख्रीष्टको जन्मदिन अर्थात् ख्रीष्टमस डे को अर्थ अनन्त जीवन दिनुहुने येशुख्रीष्टलाई हृदयमा अपनाउनु पनि रहेको उहाँले बताउनुभयो । नेपालमा फरक भाषा, फरक संस्कृती साथै फरक धर्ममा आस्था राख्ने व्यक्तिहरु भएता पनि सबैले एकअर्काको भावना विचार र अधिकारको सम्मान गर्नुपर्ने हरिहरपुरगढी गाउँपालिका २ चैनपुरका वडा अध्यक्ष विश्व राईले बताउनुभएको छ ।

त्यस्तै इसाई एकता समाज सिन्धुलीका अध्यक्ष रेभ. दीपज्योती राईले ख्रीष्टमसको शुभकामना दिनुहुदैँ येशु ख्रीष्ट सम्पूर्ण मानव जातीहरुलाई एउटै बनाउनको लागि यस संसारमा आउनुभएको र ख्रीष्टको प्रेमले मात्रै सम्पूर्ण मानव जातीहरुलाई साँचो आनन्द, सुरक्षा र अनन्त जीवन दिने बताउनुभयो । अध्यक्ष राईले सिङ्गो नेपालको साथ साथै सरकारको विभिन्न उच्च पदमा रहि जिम्मेवार सम्हाल्ने व्यक्तित्वहरुको लागि सम्पूर्ण इसाई परिवारको निरन्तर प्रार्थना रहिरहेको बताउनुभयो ।

कार्यक्रममा परमेश्वरको महिमा, प्रशंसा, आराधना गर्दै शुभकामना आदन प्रदान गरिएको थियो । यसैगरी कार्यक्रममा येशुख्रीष्टको जन्म उत्सवलाई केन्द्रित गर्दै मकवानपुर तथा सिन्धुलीका विभिन्न मण्डलीका जवानहरुले ख्रीष्टमस गीतमा नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा राजनितीक दलका प्रतिनिधी, वडा अध्यक्ष, सिन्धुली–मकवानपुर लगायत विभिन्न ठाउँका रेभरेन, पास्टर, प्रहरी, पत्रकार, जिल्लाका ईसाइ तथा गैरईसाइ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

ख्रीष्टमस शब्द ख्रीष्ट शब्दसँग जोडिएको छ यही शब्दबाट नै ख्रीष्टमस शब्दको निर्माण भएको हो । येशु जन्मनु भएको अवसरमा सिन्धुली मात्र नभई देश तथा विदेशमा नै नाच गान, उपहार साटासाट साथै येशु जन्मनु भएको शुभसमचार प्रचार लगायत विभिन्न कार्यक्रमहरु मार्फत शुभकामना आदन प्रदान गर्दै खुशीयाली मनाईन्छ । येशु ख्रीष्ट मानव जातीको उद्धार गर्न र अनन्त जीवन दिनलाई यस संसारमा आउनुभएको (युहन्ना ३ः१६) पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको छ ।



