सिन्धुली – सिन्धुलीको भिमान चेकपोष्टमा ६८ ग्रामभन्दा बढी लागू औषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो ३ः३० बजेको समयमा बीपि राजमार्ग अन्तर्गत जिल्लाको कमलामाई नगरपालिका ९ स्थित भिमान चेकपोष्टमा चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक राजु के.सी. खत्रीको नेतृत्वमा खटिएको टोलीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ख २५९५ नम्बरको हायस गाडी जाँच गर्ने क्रममा शंकास्पद यात्रुमाथि खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा कैलालीको गोदावरी नगरपालिका ६ का २६ वर्षीय अखिलजन विक्रम शाहले लगाएको खैरो रंगको कार्गो पाइन्टको दायाँ गोजीभित्र सेतो प्लास्टिकमा दुई पोका बनाई लुकाइछिपाइ राखिएको खैरो हिरोइनजस्तो देखिने ६८.०४० ग्राम गिलो पदार्थ फेला परेको डिएसपी सूवेदीले बताउनुभयो ।

घटनापछि शाहसँगै निजका साथी कैलालीको गोदावरी नगरपालिका १० का १९ वर्षीय विकास साउदलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय भिमानबाट लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


