Friday, April 17, 2026

११ महिनाको तथ्याङ्कलाई हेर्दा सिन्धुलीमा घरमै शिशु जन्माउनेको संख्या न्यून

जिवि श्रेष्ठ

सिन्धुली – चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्कलाई हेर्दा सिन्धुलीमा घरमै शिशु जन्माउनेको संख्या न्यून देखिएको छ । आर्थिक वर्ष २०८१÷०८२ को साउन देखि जेठ मसान्त सम्मको तथ्याङ्कलाई हेर्दा जिल्लाका ९० प्रतिशत महिलाहरुले स्वास्थ्य संस्थामा नै शिशु जन्माएका छन् ।जसकारण पछिल्लो समय घरमै प्रसुति गरिने संख्या उल्लेखीय रुपमा घट्दै गएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेलले बताउनुभयो ।

उहाँका अनुसार ११ महिनाको अन्तरालमा घरमा र स्वास्थ्य संस्था (बर्थिङ सेन्टर) मा गरेर ४७१ जना शिशुको जन्मभएको छ । जसमा घरमै जन्मिएका शिशुको संख्या ४८ मात्रै रहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा घरमै जन्मिएका शिशुको संख्या कमलामाई नगरपालिकामा ५, हरिपुरगढीमा १२, फिक्कलमा ११, र घ्याङलेखमा १० रहेको छ । त्यस्तै दुधौली नगरपालिकामा १, सुनकोशीमा ५, तीनपाटनमा २ र गोलञ्जोरमा २  जना शिशुको घरमै जन्म भएको छ । पटेलका अनुसार मरिण गाउँपालिकामा यस आर्थिक वर्षको जेठ मसान्त सम्म कुनै पनि महिलाले घरमै शिशुलाई जन्म दिएकी छैनन् ।

पछिल्लो समय अस्पतालको सेवा सुविधा र व्यवस्थापन मजबूत बन्दै गए संगै अस्पतालमा प्रसुति गराउनेको संख्या पनि बढ्दै गएको पाइएको छ । यस जेठ अन्तिम सम्म ४ सय २३ जना शिशुको जिल्ला अस्पतालमा जन्म भएको प्रमुख पटेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमा ४९ शिशुको अस्पतालमा जन्म भएको छ । त्यस्तै भदौमा ३५, असोजमा २०, कात्तिकमा ४९, मंसीरमा ४१, पुसमा २२, माघमा ३५, फागुणमा ३४, चैत्रमा ४६, बैशाखमा ३८ र जेठमा ५४ जना शिशुहरुको जन्म भएको पटेलले बताउनुभयो ।

गएको वर्ष जिल्ला अस्पतालमा ४ सय ३३ जना शिशुको जन्म भएको थियो । शिशुलाई अस्पतालमा जन्म दिने आमाहरु प्राय २० वर्ष देखि ३९ वर्षका उमेर समुहका धेरै हुने गरेका तथ्याङ्कमा उल्लेख गरिएको छ । साथै गत वर्ष भन्दा यस वर्ष सानै उमेरमा आमा बनि शिशुलाई जन्म दिने महिलाहरुको संख्या पनि निकै कम रहेको छ ।

शारिरिक रुपमा सक्षम नभएको कारण सानै उमेरमा आमा बनि शिशुलाई जन्म दिदाँ आमा संगै शिशुको ज्यानलाई पनि खतरा हुने सम्भावना निकै रहेको हुन्छ । जसकारण आमा बन्ने उपयुक्त उमेर २० देखी ३० वर्ष सम्म रहेको चिकित्सकहरुले बताएका छन् । । साथै घरमै प्रसूति गराउँदा सुरक्षित नहुने र विभिन्न खतराका लक्षण देखिँए तुरुन्तै उपचार नहुदाँ आमा र बच्चाको ज्यान जान सक्ने भएको हुदाँ हरेक गर्भवती आमाले स्वास्थ्य संस्थामै गएर दक्ष प्रसूतिकर्मीद्वारा प्रसूति सेवा लिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

Hot Topics

Related Articles