सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले सामुदायिक बालविकास सिकाई केन्द्रलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता पञ्चलाल योन्जनलाई सम्मान गरेको छ । मंगलबार गाउँपालिकाद्धारा आयोजित एक कार्यक्रमका बिच वडा नम्बर ५ मा रहेको मिलनचोक सामुदायिक बालबिकास सिकाई केन्द्रलाई ३ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुहुने जग्गादाता योन्जनलाई सम्मानपत्र, मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

वडा नम्बर ५ का वडा अध्यक्ष साईला लामाको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यता रहेको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबाले यहि जन्मिएर काठमान्डौँमा बसोबास गर्दै आउनु भएका पञ्चलाल योन्जनले शिक्षाको लागि आफु जस्तै शहर केन्द्रित हुन नपरोस् भन्ने हेतुले जग्गा उपलब्ध गराउनु भएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले द्वारखोला र लाटीखोलाले गर्दा मिलनचोकका स्थानीय बालबालिकालाई विद्यालय आवात्जावत् गर्नका लागि समस्या भएको र शिशुकक्षाका बालबालिका हिँडेर आवात्जावत् गर्न नसक्ने समस्यालाई मध्यनजर गर्दै स्थानियले जग्गा उपलब्ध गराइदिएमा गाउँपालिकाले त्यस ठाउँमा बालविकास सिकाई केन्द्रको लागि दुईकोठे ट्रष्ट भवन निर्माण गरिदिने निर्णयलाई सम्मान गर्दै निस्वार्थ भावमा योन्जनले जग्गा उपलब्ध गराई सहयोग गरिदिनु भएको बताउनुभयो । साथै उहाँले खोलामा तटबन्धन पनि गरिने पनि बताउनुभयो ।

गत चैत बाट नै मिलनचोक सामुदायिक बालविकास सिकाई केन्द्रको अस्थाइ भवनमा बालबालिकालाई अध्ययन,अध्यापन सुरु गरिसेकेको गाउँपालिकाले जानकारी गराएको छ ।


