Sunday, April 26, 2026

हरिहरपुरगढी धनमना खोलाको नवनिर्मित बिद्यालय उद्घाटन

संघिय सरकार बिशेष अनुदान अन्तर्गत सिन्धुली हरिहरपुरगढी गाउँपालिका द्बारा वडा नं. ५ स्थित बालकल्याण प्राथमिक विद्यालयको नवनिर्मित ४ कोठे भवनको निर्माण सम्पन्न पछि आज उद्घाटन गरिएको छ । सिन्धुली  क्षेत्र नं.२का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल “राजन” तथा पालिका प्रमुख बज्रध्वज वाईबा समुपस्थतिमा बिद्यालय भवन उद्घाटन भएको हो ।

सांसद दाहालले हरिहरपुरगढीमा प्राथमिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार निर्माण र दरबन्दी सिर्जना गर्ने काममा लागिपरेको बताउनुभयो । शिक्षा क्षेत्रमा बढी लगानी गरिएको र त्यसको नतिजास्वरुप सहरमा भन्दा गाउँमा शिक्षा राम्रो हुँदै गएको उहाँको भनाइ थियो । गाउँका विद्यालयलाई सूचना र सञ्चारको पहुँचले सहज बनाएको र सूचना प्रविधिले संसारको ज्ञानसँग जोडिएको हुँदा शिक्षक तथा विद्यार्थीहरुले लाभ लिनसक्ने अवस्था बनेको धारणासमेत राख्नुभयो ।

सांसद दाहालले जनकल्याण प्राविको स्तरोन्नतिको आवश्यकतासमेत औंल्याउनुभयो । कक्षा २ सम्म मात्र पढाइ हुने यस विद्यालयका विद्यार्थीलाई त्यसपछि अर्को विद्यालय जान समस्या रहेको उल्लेख गर्नुहुँदै उहाँले कक्षा ५ सम्म स्तरोन्नति गर्नुपर्ने बताउनुभएको हो ।

‘यहाँ उत्पीडित जाति, जनजातिहरुको बस्ती छ । बस्तीको बीचमा रहेको प्राथमिक विद्यालयमा कक्षा २ सम्म मात्र पढाइ हुन्छ । अरु विद्यालयमा भन्दा विद्यार्थी संख्या राम्रो छ,’ सांसद दाहालले भन्नुभयो, ‘५९ जना विद्यार्थी अध्ययन गर्ने यो विद्यालयलाई स्तरोन्नति गर्नुपर्ने आवश्यकता बोध गरेका छौं । अर्को विल्द्यालयमा जान दूरी टाढा छ । त्यसकारण न्यूनतम पाँच कक्षासम्म पु¥याउनुपर्छ भन्ने आवश्यकता बोध गरेका छौं ।’
उहाँले विद्यालयको स्तरोन्नतिका लागि आवश्यक दरबन्दी सिर्जना गर्नका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । यसका लागि आवश्यक कागजातलगायत तयारी गर्न उहाँले विद्यालय व्यवस्थापन समितिसँग आग्रह गर्नुभयो ।

पालिका अध्यक्ष वाइबा विद्यालय भवन उद्घाटन समारोहमा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्र वाइबाले आफूहरु निर्वाचित भएर आएपछि शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय काम भएको सुनाउनुभयो । ‘हाम्रो सरकार निर्वाचित भएपछि पालिकाभित्रका विद्यालयहरुमा कोटा ल्याउन धेरै संघर्ष गरियो । जसअनुसार अहिले सफल पनि भएका छौं,’ अध्यक्ष वाइबाले भन्नुभयो, ‘प्राविमा ४५ वटा कोटा ल्याउन सफल भएको छ । यसैगरी निमाविमा ४ वटा र माविमा ७ वटा कोटा ल्याएका छौं ।’

उहाँले कोटा ल्याउन गरेको दुःख नदेख्ने गुनासोसमेत गर्नुभयो । ‘अहिलेसम्म ५६ वटा कोटा आइसक्यो, यसलाई उपलब्धि देख्दैन । मास्टर (शिक्षक) आयो कि आएन भन्नेमात्रै कुरा हुन्छ । कोटा ल्याउन गरेको दुःख देख्दैन,’ अध्यक्ष वाइबाको भनाइ थियो ।
उहाँले चालु आर्थिक वर्षमा संघीय ससर्त अनुदानमार्फत विद्यालय भवनका लागि ३ करोड ८० लाख आएकोमा ६ वटा विद्यालय भवनको टेण्डर भइसकेको जानकारी दिनुभयो । अध्यक्ष वाइबाका अनुसार कालिका प्रावि कोक्टी, जनज्योति प्रावि चिसापानी र जीवनज्योति प्रावि जितपुरडाँडाको सूचना प्रकाशित भइ टेण्डर स्वीकृत हुने क्रममा रहेको बताउनुभयो ।

यस्तै जनप्रगति प्रावि बसेरी, जनकल्याण प्रावि सानोधुम्बे, सरस्वती शिशु बाल प्रावि जमुने, कुशेश्वर प्रावि सहित ७ वटा विद्यालय भवन शिलान्यास गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,वडा नं ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता कमल कुमार राई, वडा नं ५ का वडा अध्यक्ष साईला लामा, निवर्तमान उपाध्यक्ष अनिता कुमारी राई लगायत कार्यपालिका सदस्यहरु,बिद्यालयका शिक्षक शिक्षिकाहरु,शाखागत कर्मचारी, पार्टी प्रतिनिधि ,पत्रकार,स्थानिय बुद्दिजिविहरुको उपस्थित रहेको थियो।

Hot Topics

Related Articles