सिन्धुली – सिन्धुलीमाढीमा आबाट खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता सम्बन्धि तालिम सुरु भएको छ ।
जिल्लाका पत्रकारहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको तालिम पुस २९ गते सम्म सञ्चालन हुने छ । तालिम नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको हो ।

तालिमको उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको पाँच दिने तालिम महत्वपूर्ण पहल भएको बताउनुभयो । उहाँले सिमित बजेटका कारण यस्ता तालिमहरू छोटो अवधिमा सञ्चालन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पत्रकारहरूको व्यवसायिक दक्षता विकासका लागि यति मात्र पर्याप्त नहुने धारणा राख्नुभयो ।
पत्रकारिता क्षेत्रलाई अझ सक्षम, जिम्मेवार र अनुसन्धानमुखी बनाउन निरन्तर तालिम तथा क्षमता विकासका कार्यक्रम आवश्यक रहेको बताउँदै उहाँले आगामी आर्थिक वर्षमा पत्रकारहरूको क्षमता विकासका लागि थप बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

आयोजकका अनुसार तालिम सञ्चालन अवधिको दुईदिन खोज पत्रकारिताको विषयमा र बाँकी अन्य तीन दिन फोटो–भिडियो पत्रकारिताको विषयमा प्रशिक्षण गराइने छ । तालिमको पहिलो चरणमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले खोजमूलक समाचार संकलन, तथ्य तथा प्रमाणको प्रयोग तथा समाचारको गहिरो अनुसन्धान गर्ने विधिबारे सहजीकरण गर्नुभएको थियो ।
तालिममा जिल्लाका सञ्चारकर्मी तथा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ । तालिम मार्फत सहभागीहरूले अनुसन्धानात्मक पत्रकारिता, फोटो तथा भिडियो सम्पादन, दृश्य सामग्रीमार्फत प्रभावकारी सूचना सम्प्रेषण लगायत विषयमा व्यवहारिक ज्ञान तथा सीप हासिल गर्ने अपेक्षा गरिएको छ ।


