सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका २ हायुटार स्थित नेपाल एसबीआई बैंक लुटपाटमा घरधनीको हात रहेको पुष्टि भएको छ । गएको पुस २९ गते राती करिब ८ः४० बजेको समयमा भएको बैंक लुटपाटमा घरधनी छविलाल स्याङतानको नै हात रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सूवेदीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो ।

बैंक लुट्न संलग्नता रहेको आरोपमा प्रहरीले घरधनी स्याङ्तानलाई पुस ३० गते बेलुका महोत्तरीबाट पक्राउ गरेको सूवेदीले बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिए पछि उनै योजनामा बैंक लुटिएको स्याङ्तानले स्वीकारेका छन् । छविलाल सहित हालसम्म प्रहरीले ७ जनालाई पक्राउ गरिएको सूवेदीको भनाई छ । उहाँका पक्राउ पर्नेमा गाडी चालक काभ्रेको बनेपा नगरपालिका वडा नं. १० का ४९ वर्षीय भागवत सिंह थापा, घ्याङ्लेख गाउँपालिका वडा नं. २ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका वडा नं. २ का २४ वर्षीय सशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ५ का २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, घ्याङ्लेख गाउँपालिका वडा नं. २ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक १६ वर्षीय बालक रहेका छन् । प्रहरीका अनुसार मुख्य योजनाकार मध्येका एकजना अझै फरार छन् ।

त्यस्तै प्रहरीले अर्का योजनाकार छविलालका आफ्नै जेठान चतुरमान बज्यूलाई पनि पक्राउ गरीसकेको छ । पक्राउ परेकालाई सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको छ । प्रहरीको अनुसार उनिहरु सबै बैँक लुट्ने योजना सहित पुष २८ गते काठमाडौको कोटेश्वर जम्मा भएको र २९ गते पब्लिक सवारी साधनमा बनेपासम्म आएका थिए । बनेपाबाट लुटेराहरूले विएडी ०३९८ नम्बरको टाढा सुमो रिजर्भ गरेर घ्याङलेख सम्म पुगेका थिए । पक्राउ परेका घरधनी छविलाल र चतुरमानले गत असोजबाटै बैँक लुट्ने योजना बनाएको थिए । बैँक लुट्न भने गएको पुष २३ गते समेत काठमाडौबाट २ वटा मोटरसाईकल भाडामा लिई पक्राउ परेका मध्येका ४ जना व्यक्ति घ्याङलेख पुगेका तर परिस्थिती अनुकुल नहुदाँ उनीहरुकोे बैँक लुट्ने योजना विफल भएको थियो ।

त्यस्तै प्रहरीको अनुसार अनुसन्धानका क्रममा बैँक लुट्नका लागी घरधनीलेनै आवश्यक हातहतियारको व्यवस्थापन तथा सुचना प्रदान र निर्देशन समेत दिएको खुलेको छ । सूवेदीका अनुसार हालसम्म २ कारोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँ बरामद गरेको छ । साथै १ थान खुकुरी, १ थान प्लाष्टिकको पेस्तोल, ५ थान मोबाइल, प्रयोग भएको १ थान पानी टेप, ३ थान कालो र १ थान रातो गरि ४ थान नकाब र १ जोर कालो पञ्जा समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी सूवेदीको भनाई छ ।


