सिन्धुली – सिन्धुलीमा ६ के.जी. लागु औषध गाँजा सहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
आज मध्याहन्न १२ः३० बजेको समयमा मदन भण्डारी राजमार्ग अन्तर्गत जिल्लाको दुधौली नगरपालिका १० सिर्जनानगरमा प्रहरीले गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीका अनुसार बिहिबार प्रहरी चौकी दुधौली र बागमती प्रदेशबाट खटाइएका तालिम प्राप्त कुकर ‘जुनु’ सहितको १२ जनाको संयुक्त टोली मार्फत मदन भण्डारी राजमार्गमा गुड्ने साना तथा ठूला सवारीहरुको चेकजाँच गरिएको थियो ।

चेकजाँच गर्ने क्रममा दमक बाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ५ ख ३१५४ नम्बरको हायसको १० नम्बर सिटमा सवार उदयपुरको कटारी नगरपालिका ८ आहाले का ३७ वर्षीय टेक बहादुर मगरको साथबाट गाँजा बरामद गरिएको डिएसपी सूवेदीले जानकारी दिनुभयो । उहाँको अनुसार शंका लागि मगरले बोकेकोे कालो झोला खोली चेकजाँच गर्दा उक्त झोला भित्र ६ के.जी लागु औषध गाँजा फेला परेको थियो ।

बरामद गरिएको गाँजा सहित मगरलाई प्रहरी चौकी दुधौलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको उहाँको भनाई छ । उक्त हायस चालक काभ्रे पनौती नगरपालिका १२ का ३९ वर्षीय नवराज राउतको भने कागजपत्र नियन्त्रणमा राखि निजहरुलाई गन्तव्य तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


