Friday, April 17, 2026

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गरिएको तालाबन्दी खोल्न जिल्लाका प्रमुख प्रशासकीय अधिकृतहरुको माग

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जिको कार्यकक्षमा गरिएको तालाबन्दी खोल्न जिल्लाका स्थानीय तहहरुमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुले माग गरेका छन् । जिल्लाका स्थानीय तहहरुमा कार्यरत सम्पूर्ण प्रमुख प्रशासकीय अधिकृतहरुले गरेका सामुहिक छलफल मार्फत प्रेस विज्ञप्ती जारी गर्दै ताला खोल्न माग गरेका हुन् ।

जारी गरेको विज्ञप्तीमा प्रचलित कानून, प्राप्त अधिकार बमोजिम तोकिएको प्रकृयाहरु पुरा गरी गरिने नियमित कार्यसम्पादनहरु उपर विभिन्न स्वार्थ राखे समूहहरुबाट नियोजित तरिकाले अवरोध गर्ने, अनैतिक दवाव दिने, कार्यकक्षमा तालाबन्दी गर्ने कार्य अत्यन्त निन्दनीय भएको उल्लेख गरिएको छ ।

त्यस्तै बार्षिक बजेट तथा कार्यक्रमको कार्यान्वयन पश्चात् भुक्तानीको अन्तिम समयमा गरिने यस प्रकारका गतिबिधिहरुले समग्र पालिकाकै सेवा प्रवाह, विकास निर्माण, नियमित भुक्तानी समेत प्रभावित भई सेवाग्राहीहरुको सेवा लिने अधिकारमा समेत गम्भिर आघात पुग्ने बताईएको छ । यस्ता गतिबिधिहरुले प्रमुख प्रशासकीय अधिकृत लगायत मातहतका अन्य कर्मचारीहरुको समेत काम गर्ने मनोवल गिर्ने भन्दै यस प्रकारका गतिबिधिहरु बाट हुने नकारात्मक असरप्रति सम्बन्धित सम्पूर्ण सरोकारबाला सचेत हुन आवश्यक रहेको उल्लेख गरिएको छ ।

साथै कानून वमोजिम प्राप्त अधिकार तथा जिम्मेवारीको प्रयोग गरी आफ्नो नियमित कार्यसम्पादन गर्न प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुलाई सहयोग गर्न, विधि, पद्दती र कानूनको सम्मान गर्न सरोकारबाला जनप्रतिनीधि, शिक्षक, राजनैतिक दल, पत्रकार, नागरिक समाज, प्रशासन संयन्त्र लगायत सम्पूर्णमा अपिल समेत गरिएको छ ।

Hot Topics

Related Articles