Friday, April 17, 2026

“जुनार प्रवर्द्वन मेला २०८२” आजबाट सुरु

सिन्धुली – ‘गोलन्जोरको सान, जुनार हाम्रो पहिचान ! गोलन्जोरको जुनार, समृद्धिको आधार’ भन्ने नारा सहित “जुनार प्रवर्द्वन मेला २०८२” आजबाट सुरु भएको छ । मंसिर २३ गते देखि २५ गते सम्म गोलन्जोर गाउँपालिका ४ तीनकन्या माझकुभिण्डेमा सञ्चालन हुने तीन दिने जुनार प्रवर्द्वन मेलाको आज भव्यताका साथ उद्धघाटन गरिएको हो ।
मेलाको उद्धघाटन बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी बिकास मन्त्री मधुसूदन पौडेलले पानसमा बत्ति बालेर गर्नुभएको थियो । जुनारको बगैचामा कृषि पर्यटन प्रवर्द्वन गर्ने र जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ गाउँपालिकाले मेलाको आयोजना गरेको हो ।

मेलालाई सम्बोधन गर्नुहुदै बागमती प्रदेश कृषि तथा पशुपन्छी बिकास मन्त्री मधुसूदन पौडेलले जुनार मेलाको आयोजना गरेकोमा गोलन्जोर गाउँपालिकालाईलाई धन्यबाद दिदैँ आगामी वर्ष जुनार प्रवर्द्वनका लागि बागमती प्रदेशबाट बजेट विनियोज गर्ने प्रतिबद्धता जायर गर्नुभएको छ । आफ्नो उत्पादनलाई संसार भरी चिनाउनलाई गरिएको मेलाको विशेष अर्थ हुने बताउनुहुदैँ उहाँले गाउँपालिकाको यस अभियानले जुनार फलाउने कृषकहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले कृषकको जीवनयापनको प्रमुख आधारको रुपमा रहेको जुनारलाई नष्ट भएर जान नदिन बागमती प्रदेश सरकारले सकेको सहयोग तथा समन्वयन गर्ने बताउनुभयो । बाटो देखि लिएर भौतिक पूर्वाधार बिकासको लागि सो क्षेत्रमा भएका अथाह आवश्यकतालाई मध्यनजर गर्दै बहुवर्षीय योजनामा गोलन्जोरलाई प्राथमिकतामा राखिने बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी बिकास मन्त्री पौडेलले बताउनुभएको छ ।

यसैगरी गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले जुनारमा लाग्ने किरा तथा रोगका कारण हुने समस्याको दिगो समाधानको लागि गोलन्जोरमा छुट्टै अनुसन्धान केन्द्र स्थापना गर्नको लागि प्रदेश सरकार समक्ष माग गर्नुभएको छ । वर्षेनी जुनारमा लाग्ने औँसा, विभिन्न प्रकारका हानिकारक पुतली र बोट मर्ने समस्याहरुले कृषकलाई जहिले समस्यामा पारेको र हुनु पर्ने आम्दानी समेत हुन नसकेको गुनासो व्यक्त गर्नुभयो । वार्षीक ८० करोड बढीको आम्दानी हुने यस जुनारलाई सरकारले बेवास्ता गरिदिदाँ धेरैले पाउन सक्ने स्वरोजगार, जीविकोपार्जन समेत खोसिएको बताउनुभयो । बरालले बाहिरबाट आएका कुराहरुको जानकारी हुदाँ आफ्नै देशमा उत्पादन हुने जुनारको जानकारी नहुने साथै आवश्यक प्रचार प्रसार हुन नसक्दा कृषकले उचित बजार नपाउने र सबै नष्ट हुने बताउनुभयो । जसले गर्दा जिल्ला मात्र नभई देशकै अर्थतन्त्रमा नै असर पुग्ने हुनाले सरकारले पनि जुनारको प्रचार प्रसार र उचित प्रवर्द्वन गर्नको लागि निकै आवश्यकता रहेको उहाँको भनाई छ ।

जुनार प्रवर्द्वन मेलामा स्थानिय कृषकहरुले जुनारबाट बनाएका जुस, जाम, जेली, स्क्वास, क्याण्डी लगायतका खाद्यबस्तुहरु व्यापार तथा प्रदर्शनीमा राखिएको थियो । मेलाको अवसरमा गाउँपालिकाका कृषक र विज्ञबीच बगैँचामा जुनार प्रबद्र्धनको विषयमा पनि छलफल तथा परामर्श हुने गाउँपालिकाले जनाएको छ । मेलामा विभिन्न जातजातीको पहिचान झल्किने पहिरन भेषभुषा र बाजागाजा सहित कृषक, कृषि सहकारी संस्था, कृषक समूह, जुनार कृषकबाट झाँकी र्याली प्रस्तुत गरिएको थियो ।

साथै जुनार प्रवर्द्वन मेला अवलोकन गर्न आउने पर्यटकहरुलाई जुनार बगैचाको प्रत्यक्ष अवलोकन, जुनार बगैचामा आफैले जुनार टिपेर खान, फोटो खिच्न पनि छुट प्रदान गरिएको छ । साथै तीन दिन सम्म सञ्चालन हुने मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको साङ्गितीक प्रस्तुती समेत रहने आयोजकले बताएका छन् ।

गोलन्जोरमा गाउँपालिकाको आयोजनामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश हेटौडा, उद्योग तथा बाणिज्य कार्यालय, सिन्धुली, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ, सिन्धुली, कृषि विकास कार्यालय, सिन्धुली, जुनार विकास संघ, सिन्धुली, जुनार सहकारी संघ, सिन्धुली लगाएत विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको सहकार्यमा जुनार प्रवर्द्वन मेला सञ्चालन गरिएको हो ।

गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालको अध्यक्षतामा भएको “जुनार प्रवर्द्वन मेला २०८१” को उद्धघाटन समारोहमा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ, बागमती प्रदेश सदस्यहरु सुस्पा भुजेल (आस्था), गंगा नारायण श्रेष्ठ, रामकुमार पहाडी, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, विभिन्न पालिकाका अध्यक्ष तथा उपाध्यक्ष, वडा सदस्यहरु, पत्रकारहरु र स्थानियहरुको उपस्थिती रहेको थियो ।

Hot Topics

Related Articles