Saturday, April 25, 2026

सिन्धुलीमा घरमै जन्मिने शिशुको संख्या केहि हदसम्म कम

सिन्धुली – सिन्धुलीमा घरमै जन्मिने शिशुको संख्या केहि हदसम्म घट्दै गएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीमा रहेको आर्थिक वर्ष २०८२/०८३ को साउन देखि पुषको पहिलो हप्ता सम्मको तथ्याङ्कलाई हेर्दा जिल्लामा ८ सय ५४ जना शिशुको जन्म भएको छ ।

जसमा ७ सय ८९ जना शिशुको अस्पताल र स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) मा जन्म भएको छ भने ६५ जना शिशुको घरमै जन्म भएको छ । जसकारण पछिल्लो समय घरमै प्रसुति गरिने संख्या केहि हदसम्म घट्दै गएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेलले बताउनुभयो । चालु आर्थिक वर्षको लगभग ६ महिना भित्र अस्पताल र स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) मा जन्मिएका शिशुको संख्या कमलामाई नगरपालिकामा २ सय ८१ जना, दुधौली नगरपालिकामा १ सय ९० जना, फिक्कल गाउँपालिकामा २७ जना, गोलन्जोर गाउँपालिकामा २८, तीनपाटन गाउँपालिकामा ६५ जना रहेको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख पटेलले जानकारी दिनुभयो । त्यस्तै उहाँका अनुसार सुनकोशी गाउँपालिकामा २२, घ्याङलेख गाउँपालिकामा १२, मरिण गाउँपालिकामा ७७ र हरिहरपुगढी गाउँपालिकामा ८७ जनाको अस्पतालमा र स्वास्थ्य चौकीमा जन्म भएको छ ।

यसैगरि यस आर्थिक वर्षको पुषको पहिलो हप्तासम्म कमलामाई नगरपालिकामा ५ जना, दुधौली नगरपालिकामा २० जना, फिक्कल गाउँपालिकामा ३, गोलन्जोर गाउँपालिकामा ३, तीनपाटन गाउँपालिकामा २, सुनकोशी गाउँपालिमा २ जना शिशुको घरमै जन्म भएको प्रमुख पटेलले जानकारी दिनुभयो । घ्याङलेख गाउँपालिकामा ३ जना मरिण गाउँपालिकामा १३ र हरिहरपुरगढीमा १४ जना शिशुको जन्म घरमै भएको छ ।
पछिल्लो समय अस्पतालको सेवा सुविधा र व्यवस्थापन मजबूत बन्दै गए संगै अस्पतालमा प्रसुति गराउनेको संख्या पनि बढ्दै गएको पाइएको छ ।

शिशुलाई अस्पतालमा जन्म दिने आमाहरु प्राय २० वर्ष देखि ३९ वर्षका उमेर समुहका धेरै हुने गरेका तथ्याङ्कमा उल्लेख गरिएको छ । शारिरिक रुपमा सक्षम नभएको कारण सानै उमेरमा आमा बनि शिशुलाई जन्म दिदाँ आमा संगै शिशुको ज्यानलाई पनि खतरा हुने सम्भावना निकै रहेको हुन्छ । जसकारण आमा बन्ने उपयुक्त उमेर २० देखी ३० वर्ष सम्म रहेको चिकित्सकहरुले बताएका छन् । साथै घरमै प्रसूति गराउँदा सुरक्षित नहुने र विभिन्न खतराका लक्षण देखिँए तुरुन्तै उपचार नहुदाँ आमा र बच्चाको ज्यान जान सक्ने भएको हुदाँ हरेक गर्भवती आमाले स्वास्थ्य संस्थामै गएर दक्ष प्रसूतिकर्मीद्वारा प्रसूति सेवा लिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

Hot Topics

Related Articles