आस्था विश्वकर्मा/ सिन्धुली
सिन्धुली- सिन्धुलीमाढीमा बुधबार विषादी प्रयोगमा न्युनिकरण सम्बन्धी सचेतनामुलक गोष्ठी तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

विषादी प्रयोग मुक्त सप्ताह २०८१ को अवसरमा बुधबार सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो । कृषि विकास कार्यलय सिन्धुलीद्धारा आयोजित कार्यक्रममा विषादी प्रयोगको असर, विषादी प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा, विषादी प्रयोग गर्ने उचित तरिका, विषादी भण्डारण तथा बिक्री गर्दा ध्यान दिनुपर्ने कुरा जस्ता विविध विषयमा अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा कृषि विकास कार्यलय सिन्धुलीका प्रमुख अरुण खनालको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बाली संरक्षण अधिकृत सुशील श्रेष्ठले विषादी को दुरुप्रयोग तथा असुरक्षित प्रयोगले मानब स्वास्थ्यमा दिर्घकालीन असरहरु देखा पर्नसक्ने बताउनुभयो ।

साथै वातवरण तथा पर्यावरण, विभिन्न जीवमा, बोटबिरुवालाई असर पर्ने बताउनुभयो । पछिल्ला समयमा अन्नबाली तथा खेतीपातिमा विषादी प्रयोग निकै नै बढ्दै गएको बताउदै विषादी प्रयोग गर्दा सुरक्षित पहिरन अथवा एप्रोनको प्रयोग गर्नुपर्ने, आवश्यकता अनुकुल विषादीको मात्रा हेरी प्रयोग गर्नुपर्ने, विषादी प्रयोग गरे लगतै कुनै पनि विषादी परेको खानेकुराहरु खान नहुने, नोजललाई मुखले फुक्न नहुने, हावाको गति तथा दिशालाई ख्याल गरेर मात्रै विषादीको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

माटो स्वस्थ भए मात्रै बाटोबाट उत्पादन हुने खाद्यान्न पनि स्वस्थ रहनेको भएको हुदाँ माटोको उर्वरा शक्ति कायम तथा टिकाई राख्नलाई कृषि विकास कार्यलय सिन्धुलीका कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले आग्रह गर्नुभयो ।

साथै उहाँले माटोको अम्लियपना परिक्षण तथा व्यवस्थापनामा गरिएको प्रयास, माटोको उर्वरा शक्ति व्यवस्थापनमा गरिएको प्रयास, माटो परिक्षणको फाइदा तथा माटो रेखदेखको तरिका लगातको विषय प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा १२ जना कृषकहरुलाई विषादी प्रयोग गर्दा सुरक्षाको लागि प्रयोग गर्न माक्स, टोपी, पन्जा, चस्मा, गमबुट, एप्रोन वितरण गरिएको थियो । थप दुई जनालाई पनि पछि उक्त सामग्रीहरु वितरण गरिने कृषि विकास कार्यलयका नायब सुब्बा प्रभुनाथ प्याकुरेलले बताउनुभयो । कार्यक्रममा कृषक, कृषि प्राविधिक, एग्रोभेट तथा सरोकारवाला लगायतको उपस्थिीति रहेको थियो ।


