सिन्धुली – दलित महिला संघ (FEDO) सिन्धुलीको अध्यक्षमा शान्ता कुमारी बर्माशाखा सर्वसहमत चयन हुनुभएको छ । शुक्रबार जिल्लामा आयोजित दलित महिला संघ (FEDO) को पहिलो अधिवेशनबाट बर्माशाखाको अध्यक्षतामा ११ सदस्यीयको कार्यसमिती चयन गरिएको हो ।

दलित महिला संघ केन्द्रिय कार्यालय (FEDO) कुपन्टोल ललितपुरको आयोजनामा भएको प्रथम अधिवेशनबाट उपाध्यक्षमा अविना बिश्वकर्मा, सचिवमा सिता बिक, कोषाध्यक्षमा गंगा विशुङ्के र सहसचिवमा आस्था बिश्वकर्मा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा तुलसा बयलकोटी, मैया सार्की, रेखा परियार, बिनिता मंग्राती, सर्मिला बिक, सिता बिश्वकर्मा (रसाईली) चयन हुनुभएको छ ।

दलित महिला संघ (FEDO) बागमती प्रदेश अध्यक्ष पवित्रा बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती सिन्धसलीका उप–प्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ जिल्ला समन्वय समिती सिन्धुलीको उप–प्रमुख शान्ता कार्कीले स्थानिय सरकार मात्रै नभई प्रदेश तथा संघिय सरकार समक्ष दलित महिलाहरुको हकहित तथा अधिकारको सुनिश्चत गर्नको लागि यस दलित महिला संघले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले सामाजिक देखि लिएर राजनीतिक क्षेत्रमा प्राथमिकता दिदैँ दलितहरुलाई अगाडी बढाउन राज्यले ठूलो भुमिका खेलेको बताउनुभयो ।

त्यस्तै दलित महिलाहरुको हक अधिकार तथा सामाजिक, राजनितीक गतिविधीहरुमा सशक्त बनाउनका लागि देशका ७ वटै प्रदेशहरुमा फेडोले सकृय रुपमा काम गरिरहेको दलित महिला संघ (FEDO) बागमती प्रदेश अध्यक्ष पवित्रा बिश्वकर्माले बताउनुभयो । समाजमा पछाडी पारिएका दलित महिलाहरुलाई आफ्नो अधिकारको लागि लड्न, अगाडी बढाउन विभिन्न कार्यक्रमहरु गरिरहेको अध्यक्ष बिश्वकर्माले बताउनुभयो ।

दलित महिला संघ (FEDO) नेपालमा जातीय तथा भेदभाव उन्मुलन गर्नुका साथै देशभरका दलित महिला सशक्तिकरणका लागि वकालत गर्ने उद्देश्यका साथ १९९४ मा स्थापना भएको एक अग्रगामी संस्था हो । जुन संस्थाले अहिले देश भर नै दलित महिलाहरुलाई सशक्त बनाउन विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।


