सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिका स्थित जाँते खोलाको माथिल्लो क्षेत्रमा, जहाँ गाई चराउने परम्परागत खर्क रहेको छ, त्यही स्थानमा २०४० सालतिर गोठालाहरूले अनौठो गुफा भेटे । गोठालाले गाईहरू एकनासले सोही स्थानमै बस्न मनपराउनुको कारण खोज्दै जाँदा गुफाभित्र महादेव मन्दिर फेला परेको स्थानीय बत्ताउँछन् ।

स्थानीय भरत राउतका अनुसार स्थानीय गोठालाहरूले त्यस बेलादेखि नै सो स्थानमा श्रद्धा र विश्वाससाथ पूजापाठ गर्न थालेका थिए । खोलामै महादेवको ’बसाह’ रहेको छ । रानी दह झरना, राजा दह, तथा अन्य साना दह र झरनाहरूले भरिएको यो क्षेत्र धार्मिक मात्र होइन, पर्यटकीय दृष्टिले पनि सम्भावनायुक्त मानिन्छ ।

मन्दिरभित्र प्राकृतिक रूपमा बनेको शिवलिंग, गणेशको मूर्ति, पापद्धार र धर्मद्धार रहेको वडा अध्यक्ष गोविन्द राउतले जानकारी दिनुभयो । शिवलिंगमाथि गाईको थुनबाट पानी चुहिरहने दृश्य यहाँको विशेषता मानिन्छ उहाँले भन्नुभयो “धार्मिक र प्राकृतिक दृष्टिकोणले यस स्थानलाई अझै रहस्यमय बनाएको छ, प्रचार प्रसारको अभावमा यस धार्मिक महत्त्व बोकेको महादेव मन्दिर ओझेलमा पर्दै आएको छ ।”
वडा अध्यक्ष राउतका अनुसार यस क्षेत्रको प्रचार–प्रसार गरी धार्मिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धन गर्न योजना बनाइएको छ । शिवरात्रिका दिन मेला लाग्ने तथा भाकल हुने दिनमा यहाँ स्थानीय श्रद्धालुहरूको बाक्लो उपस्थिति रहने गर्छ ।

मन्दिरसम्म पुग्ने बाटो बनाउन र झुगा सामुदायिक वनको अगुवाइमा सिँढी निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । मन्दिरमा पुग्न विकट भएका कारण सामुदायिक वनलाई वडा कार्यालयले समन्वय गरेपछि अहिले मन्दिर हिँडडुल गर्न गर्न सहज होस भन्ने उद्देश्यले सिँढी बनाउने काम भई रहेको छ भने भोलिका दिनमा पनि वडाले महत्वका साथ पर्यटन प्रवर्द्धनका लागि लागि पर्ने बताउनुभयो । मन्दिर वडाबाट करिब ७ किलोमिटरको दूरीमा पर्छ ।


