Friday, April 17, 2026

चैत्र ३० देखि ‘कला महोत्सव’

सिन्धुली – सिन्धुलीमा यही चैत ३० गते देखि ‘कला महोत्सव’ सञ्चालन हुने भएको छ ।

विश्वको १९५ देशलाई कला मार्फत सजाई वल्डआर्ट हाउसको रुपमा बिकास गर्ने दीर्घकालीन योजना राखेको सिन्धुली कलाघरले ३ दिने कला महोत्सवको आयोजना गरेको हो। यही चैत ३० गते देखि आउने बैशाख २ गते सम्म महोत्सव सन्चालन हुनेछ।

“ऐतिहासिक सिन्धुलीगढी संगै सिन्धुली कलाघर घुम्न जाऔँ, राष्ट्रिय कला महोत्सवमा रमाऔँ” भन्ने मूल नाराको साथ सञ्चालन गर्न लागिएको कला महोत्सव सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३, चपौलीमा सञ्चालन हुने आयोजकले बताएको छ ।
बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले सोमबार महोत्सवको उद्घाटन गर्नुहुनेछ।

नेपाली मौलिक कला संस्कृतिको प्रचार तथा आन्तरिक बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सिन्धुली कलाघरको प्राङ्गणमा कला महोत्सव सञ्चालन गर्न लागिएको कलाघरका अध्यक्ष सुमन थापामगरले बताउनुभयो। आयोजकका अनुसार महोत्सवमा पराम्परागत दर्शक सहभागितामा खेल खेलाइने, मौलिक झाँकी लोकनृत्य तथा लोकबाजाहरुको प्रदर्शन, चित्रकला, मुर्तीकला र हस्तकला प्रदर्शन गरिने छन् । कला महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । त्यस्तै लागुपदार्थ दुर्ब्यसनी, महिला हिंसा, सरसफाइ तथा भ्रष्टचार बिकृती विषयक जनचेतनामूलक नाटक पनि प्रस्तुत गरिने छ ।

महोत्सवकै अवसर पारेर मादल बादकहरुको उपस्थितीमा सिन्धुली कलाघरमा नवनिर्मित दुई सय जना अटाउने हल सहितको मादल घरको पनि समुद्घाटन गरिनेछ । कला महोत्सवमा प्रवेश शुल्क एक सय रुपैँया मात्रै राखिएको छ भने वृद्धवृद्धा, अशक्त, अपाङ्ग तथा बालबालिकाहरुको हकमा प्रवेश निःशुल्क गरिएको आयोजकले जानकारी दिएको छ।

Hot Topics

Related Articles