सिन्धुली – बालबालिकाको मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि विद्यालयका शिक्षकहरुका बीच अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोग तथा सिविन नेपालको आयोजनामा जिल्लाको कमलामाई नगरपालिकामा नगरका मातहतका विभिन्न विद्यालयहरुका शिक्षकहरु समक्ष उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

बालबालिकाको शारिरीक, मानसिक तथा बौद्धिक वृद्धि बिकासमा घर परिवारका अभिभावक संगसंगै बिद्यालयका शिक्षकरुको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै उक्त कार्यक्रम जिल्लाको विभिन्न क्षेत्रमा आयोजना गरिएको सिविन नेपालकी कम्युनिकेशन म्यानेजर प्रमिला मानन्धरले जानकारी दिनुभयो । बिद्यालयका बिद्यार्थीहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भोगिरहेको शारिरीक, मानसिक, सामाजिक तथा बौद्धिक समस्याहरुलाई बुझ्न, पहिचान गर्न, सचेत गराउनको लागि हाल जिल्लाको विभिन्न क्षेत्रहरुमा यसप्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको उहाँको भनाई छ ।

कार्यक्रममा बरणदेवी माध्यमिक विद्यालय खट्टारकी नर्स मन्दिरा श्रेष्ठ र जनज्योति माध्यमिक विद्यालय फ्रेस्रेटारकी विद्यालय नर्स सन्ध्या ढकालले मुख्यतया बालबालिकाको मानसकि स्वास्थ्य अवस्था पहिचान र मानसिक अवस्थाको चरण लगायतका विषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँहरुले अटिजम, बौद्धिक विकासमा ढिलाइ, व्यवहारसम्बन्धी समस्या, चिन्ता, उदासीनता लगायतका बालबालिका तथा किशोरकिशोरीमा देखिने प्रमुख मानसिक समस्याहरू लगायतका विभिन्न विषयहरुको बारेमा सचेतनामुलक भिडियो मार्फत स्पष्ट पार्नुभएको थियो ।

यसैगरि कार्यक्रमका सहजकर्ता मनोचिकित्सक नर्स शुसिला श्रेष्ठले सबैजनाले आफ्नो विद्यालय, घर तथा वरिपरी छरछिमेकका बालबालिकाहरुमा मानसिक रुपमा देखिएका असामान्य गतिविधिहरुलाई वेवास्ता नगरि उचित परामर्शका दिन साथै चाइल्ड हेल्पलाईन नेपालको नम्बर १०९८ मा सम्पर्क गरि खवर गर्न समेत आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सहभागि शिक्षकहरुले आफ्ना विद्यालयका विद्यार्थीहरुको मानसिक अवस्था, भोगेका अनुभव र चुनौतीहरु प्रस्तुत गर्दै त्यसको समाधानको लागि यस कार्यक्रमले ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् । आयोजकका अनुसार भोलि पनि कमलामाई नगरपालिकाका बाँकी अन्य शिक्षकहरूलाई लक्षित गरि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ ।


