Friday, January 16, 2026

सिन्धुलीमा हत्याको प्रकरण बढ्दो

आस्था विश्वकर्मा,
सिन्धुली –
सिन्धुलीमा हत्याको प्रकरण निकै बढ्दै गएको छ । गएको वर्षको तुलनामा हेर्ने हो भने यस वर्ष ५ महिनाको अवधिमा नै हत्याको संख्या उच्च देखिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष ०८२/०८३ को पाँच महिनामा ५ जनाको हत्या भइसकेको छ । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा जिल्लाको दुधौलीमा नगरपालिकामा २ जना, कमलामाई नगरपालिकामा १ जना, गोलन्जोर गाउँपालिकामा १ जना र तीनपानटन गाउँपालिकामा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा तथ्याङ्क छ । हत्या हुनेहरुमा १ बालिका, २ जना पुरुष र २ जना महिला रहेका छन् । प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्धामा ८ जना पक्राउ परेका छन् ।

गएको साउन ५ गते दुधौली नगरपालिका वडा नं. २ मा रहेको मधुगंगा महादेव मन्दिर नजिकै कालिडाँडामा बन्दुक समाएर फोटो खिच्ने क्रममा आफ्नै साथीले चलाएको बन्दुकको गोली लागी भारतको सितामढी जिल्लाको भवदेपुर ११ का २५ वर्षीय पंकज कुमार भगतकोे हत्या भयो । उक्त घटनामा गोली चलाउने एक भारतिय नागरिक र अनुमति विना भरुवा बन्दुक राख्ने दुई जना गरि तीन जनालाई प्रहरीले पक्राउ ग¥यो ।

जग्गाको अंश विवादमा दुधौली नगरपालिका १४ भौडीमा जेठा छोरा ४० वर्षीय तुलाराज सुनुवारले गलले हानेर आफ्नै ६५ वर्षीय आमा फाल कुमारी सुनुवारको हत्या गरे । छुट्टिएर बसेका जेठा छोरा तुलाराजले मदिरा सेवन गर्ने र अंश माग्दै आमासँग पटक पटक घरझगडा गर्दै आएका थिए । एकदिन त तुलाराजले आमाको घरमा आई आमालाई निधारमा हानेर हत्या नै गरे । आमा ढलेपछि छोराले सुँगुरलाई घोच्ने सुईरोले आमाको पेटमा घोँचेर घाउ समेत बनाएको प्रहरीको अनुसन्धानले देखाएको थियो । आमाको हत्या गरी भागेका तुलाराजलाई प्रहरी र स्थानीयको सहयोगमा पक्राउ गरियो ।

यसैगरी गत कार्तिक २१ गते तीनपाटन गाउँपालिका १ बेलघारीमा रहेको झोलुङ्गे पुलको करीब एक सय मिटर नजिकै तीनपाटनको वडा नं २ पहिरेकी ४० वर्षीय छत्रकुमारी कार्की (थापा) को शव क्षतविक्षत अवस्थाम फेला परेको घटना पनि सबैको मनष्पटलमा अझै ताजै छ । १७ गतेदेखि हराएकी छत्रकुमारीको दाहिने हातका तीनवटा औंला काटिएको, घाँटीमा सलले कसिएको र सोहि सलले मुख छोपिएको साथै पाठेघर बाहिर निकालिएको र एउटा स्तन काटिएको भयाबह अवस्थामा भेटिएको थियो । यस घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्दा सुरज भन्ने सूर्य बहादुर कामी र उनकै भान्जा टंक बहादुर कामी संलग्न रहेको पुष्टि भयो । र उनीहरुलाई पक्राउ पनि गरियो ।

कमलामाई नगरपालिका–६ पानीट्यांकीका ५५ वर्षीय बुद्धसिंह वाइबालाई उनकी श्रीमती ४८ वर्षीया राधिका वाइबाले घरायसी विवाद हुँदा टाउकोमा ढुङ्गा प्रहार गरि हत्या गरिन् । त्यस्तै गोलन्जोर गाउँपालिकामा पनि खेल्नेक्रममा बालकले पानीट्याङ्किमा ढकेल्दा सानो बालिकाको ज्यान गएको थियो । यी सबै हत्या चालु आर्थिक वर्षको साउन देखि कात्तिक महिना भित्रमा भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा उपलब्धित गत आर्थिक वर्ष ०८१/०८२ कोे तथ्याङ्कलाई पुनः नियाल्ने हो भने १२ महिनाको अवधिमा ४ जनाको हत्या भएको थियो । जसमा हरिहरपुरगढी गाउँपालिकामा २ जना, घ्याङलेख गाउँपालिकामा १ जना र दुधौली नगरपालिकामा १ जनाको हत्या भएको थियो । जसमा १ बालिका र ३ पुरुष रहेको उक्त तथ्याङ्कमा उल्लेख छ । साउन देखि असार महिनाको अन्तरालमा भएको उक्त हत्या प्रकरणमा ५ जना पक्राउ परेका थिए । यसर्थ चालु आर्थिक वर्षको छ महिना पनि नपुग्दै हत्याको प्रकरणले गत वर्षलाई उछिन्नेको स्पष्ट देख्न सकिन्छ । यस्ता अपराध र हत्याका घटनाहरूको निरन्तरताले समाजमा डर र असुरक्षा फैलाउँदछ । जुन ठूलो चिन्ताको विषय हो ।

हत्या र अपराधिक घटनाले समाजमा स्थान पाउनुको मुख्य कारण आर्थिक असमानता र प्रलोभन, चेतनाको कमी, आपसि रिसिबि, खराब नियत लगायतका पक्षहरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले पालिका आवाजलाई बताउनुभयो । उहाँले आजभोली मानिसहरुले सानो कुरा पनि सहन नसक्ने कारणले पनि धेरै हत्याहरु हुने गरेको बताउनुभएको छ । त्यस्तै व्यक्तिगत स्वार्थ परिपूर्तिको लागि पनि हत्या गर्ने श्रृङखला बढ्दो रहेको उहाँको भनाई छ ।

यस प्रकारको अपाराधिक गतिविधिहरु समाजमा हुन नदिन व्यक्ति स्वयम् नै विवेकशील हुनपर्नेमा उहाँले जोड दिनुभएको छ । रोजगारका अवसरहरू सिर्जना, परिपूर्ण शिक्षा, न्यायिक प्रक्रियामा पारदर्शिता साथै अपराधको क्षणिक फाइदाबाट टाढा राख्ने वातावरण सिर्जना गर्नसके हत्याको प्रकरण केहि हदसम्म घट्न सक्ने उहाँले बताउनुभएको छ । त्यस्तै जिल्लामा हत्या लगायतका विभिन्न घटनाहरु हुन नदिन सुरक्षा निकायहरुले पनि प्रभावकारि ढङ्गले काम गरिरहेको जानकारी दिनुभयो । हत्या तथा अपराधिक घटनाहरु निवारणका लागि विभिन्न स्थान, झुण्ड तथा व्यक्तिहरु विच सचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले बताउनुभयो ।

Hot Topics

Related Articles