सिन्धुली – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको बाह्रौँ दिन सिन्धुलीमाढीमा पत्रकारहरुको बिच अभिमुखीकरण कार्यक्रम गरिएको छ । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ सुरु भएको अभियान अन्तर्गत शनिबार ‘लैङ्गिक हिंसा निवारणको लागि पत्रकारको भूमिका’ विषयक अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रमको सम्उद्घाटन गर्नुहुदैँ कमलामाई नगरपालिकाका उप–प्रमुख मञ्जु देवकोटाले एक दिन मात्रै नभई वर्षको ३ सय ६५ दिन नै लैङ्गिक हिंसा निवारणको लागि पत्रकारहरु पनि आफ्नो ठाउँबाट लागि पर्ने बताउनुभयो । घर, परिवार तथा समाजमा भएका विभिन्न प्रकारका हिंसालाई अन्त्य गर्न संवेदनशिलता पूर्वक कमल चलाईरहन आग्रह गर्नुभयो । जसको लागि स्थानिय तह, सम्बन्धित निकायबाट आर्थिक भौतिक र विभिन्न कुराहरुमा सधै सहयोग रहने उप–प्रमुख देवकोटाले बताउनुभयो ।

कमलामाई नगरपालिकाको सहयोग तथा क्रियाशील महिला पत्रकार (डब्लु डब्लु जे) सिन्धुलीको आयोजनामा गरिएको उक्त कार्यक्रमको सहजीकरण गोरखापत्र दैनिकका डेक्स सम्पादक राधा चालिसे गर्नुभएको थियो । कार्यक्रमलाई सहजीकरण गर्नुहुदै सम्पादक चालिसेले पत्रकारहरुले कलम चलाउँदा पात्रको गोपनियता, निजी जीवन र सुरक्षाको सवालमा निकै चनाखो हुनु पर्ने बताउनुभएको छ । उहाँले नाबालक, पीडित, जोखिममा परेकाहरुको बारेमा समाचार लेख रचना गर्दा साथै समाजमा भएका समस्यालाई उजागर गर्दै गर्दा कसैको पनि नैतिक, पारिवारिक र मानसिक अवस्था भङ्ग हुने तरिकाले पत्रकारिता गर्न नहुने बताउनुभयो ।

क्रियाशिल महिला पत्रकार (डब्लु डब्लु जे) सिन्धुलीका अध्यक्ष राधिका बुढाथोकीको अध्यक्षता तथा कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डे, पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा, बालबालिका तथा समाज कल्याण शाखाका कमलामाई नगरपालिकाका प्रतिनिधि सावित्रा देवकोटा रेग्मी लगायत जिल्लाका सकृय पत्रकारहरुको उपस्थिती रहेको थियो ।

