सिन्धुली – सिन्धुलीमा लागु प्रदार्थ सेवन गरि गाडी चलाउने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ जनस्वास्थ्य कार्यालय सिन्धुली तथा जिल्ला प्रहरी कार्यालय सिन्धुली र ट्राफिक प्रहरी कार्यालय समेतको संयुक्त आयोजनामा सिन्धुलीको कमलामाई नगरपालिका ७ गडौली पुलस्थित बिपी राजमार्ग सडकखण्डमा सञ्चालन गरिएको सवारी चालकहरूको स्वास्थ्य परिक्षण कार्यक्रमअन्तर्गत लापसे गरि सवारी चलाउने ६ जनालाई नियन्त्रणमा लिएको हो ।

बीपि राजमार्ग भएर सञ्चालन हुने ट्रक, बस, माईक्रो, सुमो, ईलेक्ट्रिक भ्यान र पिकअप समेत गरि ३२ वटा सवारी साधनका चालकहरुलाई लागु पदार्थ सेवन चेकजाँच गरिएकोमा ३२ वटा किटको प्रयोग गर्दा ६ जना सवारी चालकको लागु पदार्थ सेवन पोजिटिभ भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सूवेदीले जानकारी दिनुभयो । सूवेदीका अनुसार पोजिटिभ भेटिनेहरुमा म.प्र.०२–००९प १२७५ नम्बरको स्कुटर चालक सिन्धुलीको गोलोन्जोर १ बस्ने २३ वर्षीय चेतराज नेपालि, प्र.१०१–०१८प ९३३ नम्बरको मोटरसाइकल चालक कमलामाई ६ धुराबजारका २८ वर्षीय बिनोद शंकर र बा८१ प७१०१ नम्बरकोे मोटरसाइकल चालक कमलामाई न.पा ६ राम्माडी बस्ने ३० वर्षीय नरेन्द्र भण्डारी रहेका छन् ।

त्यस्तै लापसे गर्नेहरुमा बा ६१ प ७४२९ नम्बरको मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका १ बस्नेका २३ वर्षीय गोबिन्द सिक्देल, प्र.२–०२–००१ प ८४८६ नम्बरको मोटरसाइकल चालक रामेछापको उमाकुण्ड गाउँपालिका ३ का २४ वर्षीय कुशराज सुनुवार र प्र.१–०२–०५८प २८३४ नम्बरको मोटरसाइकल चालक झापाको दमक नगरपालिका ५ का २५ वर्षीय तुसाहाङ सावा रहेका छन् । निज चालकहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट आवश्यक कारबाही गरिने प्रहरीको भनाई छ ।

