सिन्धुली – सिन्धुलीमाढीमा सञ्चालन भएको निशुल्क आखाँ शिविरबाट ३ सय भन्दा बढी लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको आयोजना तथा जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा आँखा उपचार केन्द्र सिन्धुलीमा शनिबार देखि सञ्चालन भएको दुई दिने निशुल्क आखाँ शिविरबाट ३ सय भन्दा बढीले सेवा लिएका हुन् ।

शिविरमा आखाँ चेकजाँच गर्दा आँखामा मोतियाबिन्दु पुष्टि भर्ई ७७ जनाको शल्यक्रिया समेत गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार मोतियाबिन्दुको उक्त शल्यक्रियामा कमलामाईका ६३ जना, दुधौलीका २ जना, मरिणका ३ जना र सुनकोशीका १ जनाले सेवा लिएका छन् । त्यस्तै तीनपाटनका ५ जना, घ्याङलेखका १ जना र गोलन्जोरका १ जनाले शल्यक्रिया गरेका छन् । साथै सर्लाहीबाट आएका १ जनाको पनि शल्यक्रिया भएको श्रेष्ठले बताउनुभयो । शिविरमा सबैभन्दा धेरै कमलामाई नगरपालिकाबाट सेवा लिएका आयोजकले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले एक दशक देखि प्रत्येक महिनाको अन्तिममा शिविर सञ्चालन गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष श्रेष्ठले बताउनुभयो । आखाँको निःशुल्क उपचार गर्न पाउँदा आफुहरुलाई निकै सहज भएको भन्दै सेवाग्राहीहरुले खुसि व्यक्त गरेका छन् ।

