सिन्धुली – आउने केहि दिन भारी वर्षाको उच्च सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सम्पूर्ण जिल्लाबासिहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यहि कार्तिक १३ गते देखि १५ गते सम्म सिन्धुली लगायत देशका धेरै जिल्लाहरुमा भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उच्च सतर्कताका साथै पूर्व तयारी गर्नको लागि अनुरोध गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ११ गते प्रकाशन गरेको उच्च सतर्कताको सूचना बमोजिम बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यस जिल्ला पनि बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै बाढी पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरुमा उच्च सतर्कता अपनाउ आग्रह गरिएको छ । वर्षात र बाढि पहिरोबाट सवारी साधन र यात्रुहरुलाई हुन सक्ने जोखिम हुन नदिनको लागि भारी वर्षाको अवस्थामा सुरक्षा निकायले जुनसुकै स्थानमा सुरक्षित रहने गरी सवारी साधन रोक्न सक्ने समेत बताइएको छ ।

प्रशासनले तीन दिनसम्म अत्यन्त जरुरी नभईकन बाहिर नजान, टाढाको यात्रामा ननिस्कन विशेष गरी बीपि राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा वर्षा भइरहेको अवस्था र रातको समयमा सवारी साधन नचलाउन आग्रह गरेको छ । साथै अहिले फसल भित्र्याउने समय भएको हुदाँ धान तथा अन्य बाली नकाट्न र काटेको भए तत्काल भित्र्याउन भनिएको छ ।

