Thursday, September 25, 2025

“सिन्धुलीगढी घुमेर हेर्दा” नयाँ आवाजमा पुनः सार्वजनिक

सिन्धुली – “सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार मा¥यो नि मायाले मा¥यो” भन्ने लोकभाका जस्ले सिन्धुली जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ उक्त गित बजारमा पुनः नयाँ आवजमा सार्वजनिक भएको छ । २०३६ सालमा स्वर्गीय गायक कृष्ण विक्रम थापाले रेडियो नेपाल मार्फत रेकर्ड गर्नु भएको उक्त गित उहाँ कै जेष्ठ छोरा राजु थापाको आवाजमा पुनः सार्वजनिक भएको हो ।

राष्ट्रिय पुरस्कार समेत जित्न सफल भएको यस गित आज पनि देश विदेशमा रहेका नेपालीहरुको मन मस्तिष्क गुञ्जने गर्दछ । ४६ वर्ष पछि छोरा राजु थापाले पुनः आफ्नो आवजमा रेकर्ड गर्नुभएको “सिन्धुलीगढी घुमेर हेर्दा” असोज ६ गते म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको गितको मुख्य भूमिकामा रमेश विश्वकर्मा र दीप्सा कार्की रहेका छन् । त्यस्तै पवन केसी, सत्यदेबी, पबित्रा रम्तेल र काजी थापाले सहायक भूमिका निर्वाह गरेका छन् । सिन्धुली जिल्लाको पहिचान तथा इतिहास बोकेको यस गितको छायाङ्कन सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढी लगायत आसपासका क्षेत्रहरुमा गरिएको छ । यसैगरि गितको भिडियो निर्देशन क्रान्ति केसीले गरेका छन् भने दृश्य कैद बासु बरालले गरेका छन् । साथै भिडियोको लागि सिन्धुली कलाघर र वारियर डान्स सेन्टर सिन्धुलीले पनि सहयोग प्रदान गरेको छ ।

आफ्नो स्वर्गीय पिता कृष्ण विक्रम थापाको सम्झनामा आफ्नै आवाजमा पुनः बजारमा ल्याइएको यस गितले फेरि पनि एकपल्ट देश तथा विदेशमा रहनुभएको नेपालीहरुको हृदयमा सिन्धुलीको एतिहासिकतालाई पुनः झल्काउने छोरा राजु थापाले विश्वास व्यक्त गर्नुभएको छ । साथै नयाँ आवाजमा आएको यस गितले दर्शक तथा श्रोताहरुको मन जित्न सफल हुने कुरामा आफु विश्वस्त रहेको थापाले बताउनुभयो ।

सिन्धुली जिल्लाको तत्कालिन रतनचुरा गाविसमा जन्मिनु भएको स्वर्गीय लोकगायक कृष्ण विक्रम थापाले रेडियो नेपालमा रेकर्ड गर्नुभएको पहिलो गित “सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार मा¥यो नि मायाले मा¥यो” आफ्नै शब्द संगितमा रहेको थियो । रेकर्ड पश्चात् यस गितले जिल्लालाई मात्रै हैन देशलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको थियो । प्रत्येक देश तथा विदेशमा रहेका नेपालीहरुको ओठको गुनगुनाहटमा रहन सफल भयो । बच्चा देखि वृद्ध सम्म र रेडियो देखि टेलिभिजन सम्म यस गित गुञ्जिन थाल्यो । अहिले पनि प्रत्येक मेला, महोत्सव, कन्सर्ट तथा कार्यक्रमहरुमा यस गित घन्किने गर्दछ । सिन्धुली जिल्लाको कला तथा संस्कृती एवम् ऐतिहासिकता दर्शाउने कृष्ण विक्रम थापाको गित “सिन्धुलीगढी घुमेर हेर्दा” ले सांगितिक क्षेत्रका साथै हरेक नेपालीहरुको हृदयमा अमरत्व प्राप्त गरेको छ ।

Hot Topics

Related Articles