सिन्धुली – प्रथम राष्ट्रिय कोदो दिवस सिन्धुलीमा पनि भव्यताका साथ मनाईएको छ । “कोदोजन्य परिकारको आहार ः खाद्य सुरक्षा स्वस्थ जीवनको आधार” भन्ने राष्ट्रिय नाराका साथ सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा प्रभात फेरी तथा कोदोजन्य परिकार सेवन गरि प्रथम राष्ट्रिय कोदो दिवस–२०८२ सिन्धुलीमाढीमा पनि भव्यताको साथ मनाईएको हो ।

सिन्धुली उद्योग वाणिज्य संघका सभापति अर्जून कुमार श्रेष्ठको अध्यक्षतामा भएको प्रथम राष्ट्रिय कोदो दिवस–२०८२ को कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका उप प्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

पहिलो राष्ट्रिय कोदो दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुदै जिल्ला समन्वय समिति सिन्धुलीका उप–प्रमुख शान्ता कार्कीले एक दिन मात्रै हैन ३ सय ६५ दिन नै कोदोको प्रचार गर्नुपर्ने बताउनुभयो । कार्कीले सिन्धुली जिल्लामा पनि कोदो उत्पादनको प्रबल सम्भावना भएको हुदाँ सरकार समक्ष बजेट माग गरि सिन्धुलीलाई कोदोजोन बनाउन सबैले आ आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले आफ्नै ठाउँमा बसि मेहेनत गर्ने जिल्लाका किसानहरुलाई कोदो उत्पादनको लागि थप प्रोत्सान स्वरुप विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै आवश्यक सामग्री सहयोग गर्न कृषि बिकास कार्यालय समक्ष आग्रह गर्नुभएको छ । अरु बालि संगै कृषकहरुले क्षेत्र निर्धारण गरि कोदोको उत्पादन तर्फ अघि बढेमा आय स्रोत वृद्धि हुनुका साथै उपभोक्ताको स्वास्थ्यलाई पनि फाइदा हुने बताउनुभयो ।

त्यस्तै भारतबाट यस वर्ष ९० करोडको कोदो आयात गरिएको हुदाँ आउने दिनमा देश मै कोदो उत्पादन गरि देशको अर्थलाई बाहिर पठाउन बाट रोक्न सबै कृषकहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका सभापति अर्जून कुमार श्रेष्ठले बताउनुभयो । उहाँले कोदोको परिकारले शरिरलाई तागत दिने, रोग संग लड्नको लागि सहयोग गर्ने भएको हुदाँ सबै जनालाई खानको लागि पनि आग्रह गर्नुभयो ।

नेपाल सरकारले कोदोजन्य बालीहरुको उत्पादन बढाउन र आयात रोक्न पहिलो पटक साउन १६ गते देशव्यापी रुपमा राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको थियो । आज कोदोबाट उत्पादन विभिन्न खाद्यान्न परिकारहरुको बिक्री वितरण, सेवन तथा प्रदशर्नीका साथै विभिन्न कार्यक्रमको आयोजना गरि देशव्यापी रुपमै प्रथम राष्ट्रिय कोदो दिवस–२०८२ मनाईएको छ ।