सिन्धुली – सिन्धुलीमा अपाङ्गता भएका व्यक्तीहरुको स्वाबलम्वन समुहका सदस्यहरुका लागि ३ दिने वकालत तालिम सञ्चालन गरिएको छ । एविलिस फाउण्डेसनको सहयोग तथा सिन्धुली अपाङ्ग महिला संघको आयोजनामा सशक्त महिला अभियान समावेशी न्यायका लागि अग्रसरता परीयोजना अन्तरर्गत अपाङ्गता भएका व्यक्तीहरुको स्वाबलम्वन समुहका सदस्यहरुका लागि उक्त तालिम मंगलबारबाट सञ्चालन गरिएको हो ।

तालिमलाई उद्धघाटन गर्नुहुदै जिल्ला समन्वय समिति सिन्धुलीका उप–प्रमुख शान्ता कार्कीले पहिलो पटक यस प्रकारको तालिम सिन्धुलीमाढीमा आयोजना गरिएकोमा खुशी व्यक्त गर्नुहुदै अगामी दिनहरुमा पनि निरन्तरता दिई ९ वटै पालिकामा तालिमको आयोजना गर्नुपर्ने बताउनुभयो । साथै यस ३ दिने तालिमले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि गर्नुका साथै आत्मा निर्भर बन्न समेत मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मानिर्भर र सक्षम बनाउने उदेश्यले ३ दिने वकालत तालिमको आयोजना गरिएको सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीका अध्यक्ष दिल कुमारी देवकोटा (दिपा) ले जानकारी दिनुभयो । ३ दिनसम्म सिन्धुलीमाढीमा सञ्चालन गरिने उक्त तालिममा १० प्रकारका बहिरा, शारिरीक रुपमा अपाङ्ग भएका व्यक्ति र दृष्टिविहिन भएका व्यक्ति र उनीहरुका अभिभावकहरु गरी १० जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

सिन्धुली अपाङ्ग महिला संघका अध्यक्ष दिल कुमारी देवकोटा (दिपा) को अध्यक्षतामा तथा जिल्ला समन्वय समिति सिन्धुलीका उप–प्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा भएको तालिम उद्धघाटन समारोहमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका उपाध्यक्ष, कमलामाई नगरपालिकाका उपप्रमुख, १४ ओटै वडाका अध्यक्ष तथा प्रतिनिधिहरु, अपाङ्ग भएका व्यक्तिहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।