सिन्धुली – तीन दिने रुपान्तरण अलुम्नाइ कार्यशाला बिहिबार सफलतापूर्वक सम्पन्न भएको छ । रिलिफ नेपाल सिन्धुली र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ‘एकीकृत संरक्षण तथा समुदाय संलग्नता परियोजना’ अन्तर्गत सो कार्यशाला आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले आफुले रुपान्तरण कक्षा सञ्चालन गर्दा भोगेका सकारात्मक अनुभवहरू, समुदायमा ल्याएका परिवर्तनहरू, सफल अभ्यासहरू तथा भोगेका चुनौतीहरूको बारेमा खुल्ला छलफल गरिएको थियो । त्यस्तै कार्यक्रमको अवसरमा सहभागीहरूलाई सशक्त रूपमा संगठित गर्न ‘रुपान्तरण अलुम्नाइ ब्याच ४’ नामक २३ सदस्यीय समुह समेत गठन गरिएको छ । उक्त समुहको संयोजकमा गोलन्जोर गाउँपालिका–१ का नारायण चौहान र सह–संयोजकमा तीनपाटन गाउँपालिका–४ की जुना परियार चयन भएका छन्

त्यसैगरि तीन ओटै पालिकाका सहभागीहरूले आ–आफ्नो स्थानीय सन्दर्भ अनुसार बालमैत्री तथा पोषणमैत्री स्थानीय तह घोषणाका लागि आवश्यक रणनीति र अनुमानित बजेट सहित कार्ययोजना निर्माण गरेका छन् । सो कार्ययोजनालाई सहभागीहरूले स्थानीय सरकार तथा सरोकारवालाहरु सँग समन्वय गरेर कार्यान्वयमा लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रत्येकलाई सशक्त बनाउने र दीक्षित गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको सो कार्यक्रमले आत्मविश्वास अभिवृद्धि गराउनुका साथै समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरणा दिएको सहभागिहरुले बताएका छन् ।

कार्यक्रमको समापन रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेलको अध्यक्षतामा गरिएको हो । पौडेलले ३ दिने कार्यक्रमलाई सफल बनाउनका लागि खटिएका कार्यक्रमका सजहकर्ता तथा सहभागिहरुलाई धन्यवाद दिनुहुदै वल्र्ड भिजनको सहकार्यमा बालबालिका तथा किशोर–किशोरीहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी सबै दीक्षित सहजकर्ताहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । तीन दिनसम्म सञ्चालन कार्यशालाको सहजीकरण रिलिफ नेपालका फिल्ड अफिसर शान्ति बराल र अनिल सार्कीले गर्नुभएको थियो । कार्यशालामा तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकामा विगत ६ महिनादेखि समुदायमा रुपान्तरण कक्षा सञ्चालन गरिसकेका सहजकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो ।

