Wednesday, October 15, 2025

७७ प्रतिशत धान रोपाइँ सकियो, शतप्रतिशत रोपाइँ हुने अपेक्षा

आस्था बिश्वकर्मा,

सिन्धुली – सिन्धुलीमा साउन महिनाको पहिलो हप्ता बितिसक्दासम्म ७७ प्रतिशत धान रोपाइँ भएको छ । बाँकी २३ प्रतिशत रोपाइँ भदौको पहिलो हप्तासम्म सकिने कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

गएको वर्ष जिल्लामा ९७ प्रतिशत रोपाइँ भएको थियो । यसपटक शतप्रतिशत रोपाइँ हुने अपेक्षा गरिएको कृषि विकास कार्यालय सिन्धुलीले जानकारी दिएको छ । सिन्धुलीमा कुल खेती योग्य जमिन ६९ हजार २ सय ५३ हेक्टर रहेको छ । यसमध्य ११ हजार १ सय ८८ हेक्टर जमिन वर्षे धानका लागि खेतीयोग्य छ । त्यस्तै १ हजार १ सय ७४ हेक्टर क्षेत्रफल जमिन चैते धानको लागि उपयुक्त रहेको छ । यस पटक रोपाइँको लागि किसानहरु अगाडि देखि नै तयार रहे पनि कतै अल्पवृष्टि र कतै अनावृष्टि भएकै कारण जिल्लाका विभिन्न क्षेत्रमा रोपाईँ ढिलो सुरु भएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार अहिलेसम्म कमलामाई नगरपालिकामा ८५ प्रतिशत, दुधौली नगरपालिकामा ६२ प्रतिशत, सुनकोशी गाउँपालिकामा ८७ प्रतिशत, घ्याङलेख गाउँपालिकामा ८५ प्रतिशत रोपाई सकिएको छ । त्यस्तै फिक्कल गाउँपालिकामा ७० प्रतिशत, तीनपाटन गाउँपालिकामा ८२ प्रतिशत, मरिण गाउँपालिकामा ७९ प्रतिशत, हरिहरपुरगढी गाउँपालिकामा ७७ प्रतिशत र गोलन्जोर गाउँपालिकामा ८० प्रतिशत धान रोपाइँ सकिएको छ ।
भौगोलिक हिसावले जिल्लामा धान खेतीको लागि सबैभन्दा राम्रो दुधौली नगरपालिका मानिन्छ ।

त्यसैगरि धान रोपाईँको लागि भौगोलिक दृष्टिकोणले क्रमसः कमलामाई, मरिण, तीनपाटन, सुनकोशी, हरिहरपुरगढी, फिक्कल, घ्याङलेख र गोलन्जोर रहेका छन् । जिल्लामा विशेषगरी सावित्री, रामधान, हाइब्रेट, खुमल, मन्सुली, रन्जित, मकवानपुर –१ जातका धानको बिउ रोप्ने गरिन्छ । कार्यालयले दिएको तथ्यांक अनुसार गत वर्ष ५० लाख मेट्रिकटन धान उत्पादन भएको थियो । सिँचाइको सुविधा भएका विभिन्न क्षेत्रहरुमा अहिले धमाधम धान रोपाईँ भईरहेको छ ।

Hot Topics

Related Articles