Tuesday, November 4, 2025

सिन्धुलीमा बालबालिका हराउने क्रम अझै घटेन

आस्था बिश्वकर्मा,
सिन्धुली – सिन्धुलीमा बालबालिका हराउने क्रम अझै घट्न सकेको छैन । आर्थिक वर्ष २०८१÷०८२ को तथ्याङ्क हेर्दा पछिल्लो वर्षहरुको जस्तै यस वर्ष पनि बालबालिका हराउने क्रम उस्तै रहेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्त सम्म सिन्धुली जिल्ला भित्रका ५३ जना बालबालिकाहरु हराएका छन् । कार्यालयका अनुसार सबै भन्दा धेरै कमलामाई नगरपालिकामा ३१ जना बालबालिकाहरु हराएका छन् । यसैगरी दुधौली नगरपालिकामा १४ जना, सुनकोशी गाउँपालिकामा ४ जना, हरिहरपुरगढी गाउँपालिकामा ३ जना र गोलन्जोर गाउँपालिकामा १ जना बालबालिका हराएको प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

बेपत्ता हुनेमा धेरैजसो बालिकाहरु रहेका छन् । कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार बेपत्ता हुनेमा ४४ जना बालिका र ९ जना बालक रहेका छन् । ११ महिनाको अवधिमा हराएका ५३ जना बालबालिकाहरु सबैलाई सकुशल फेला पारेको प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । गएको आर्थिक वर्षमा ९ जना बालक र ४० जना बालिका गरि ४९ जना बालबालिकाहरु हराएका थिए ।

१५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरु प्रत्येक वर्ष हराउने गरेको तथ्यांक प्रहरीसंग छ । सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार एक्लोपन, गलत संगत, घरेलु हिंसा, अभिभावकको लापरबाही, आर्थिक समस्या, घरमा कलह, छरछिमेकमा आपसि रिसिबि, आमा बुबाले जाँड रक्सी सेवन गरि झैझगडा गर्ने लगायतका कारणले धेरै जसो बालबालिकाहरु हराउने गरेका छन् । त्यति मात्रै हैन विद्यालयमा राम्रो वातावरण, साथीभाईहरुसंग राम्रो सम्बन्ध विस्तार गर्न नसक्दा तथा विद्यालय जान पर्ने डरले पनि धेरै बालबालिकाहरु घर छोडेर जाने गरेको पाइएको छ ।

कतिपय मानसिक रुपमा अस्वस्थ भएका बालबालिकाहरु रेखदेख गर्ने अभिभावक बिना नै घरबाट निस्किएको कारण पनि हराउने गरेका छन् । तर यी सबै समस्याहरुलाई न्यूनिकरण गर्नको लागि बालबालिकाका अभिभावक, शिक्षक, साथीहरुको ठूलो भूमिका रहने प्रहरी प्रमुख सुवेदीले बताउनुभयो । उहाँले आफ्नो बालबालिकाको सहि तरिकाले रेखदेख तथा संरक्षण गर्न साथै पारिवारिक माहोल पनि बालमैत्री बनाइदिन अभिभावक तथा सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ ।

Hot Topics

Related Articles