Tuesday, November 4, 2025

साउन लागेसंगै बजारमा हरिया, पहेँला चुरा र मेहेन्दीको व्यापार बढ्दै

आस्था बिश्वकर्मा,

सिन्धुली – साउन महिना सुरु भएसंगै सिन्धुलीमा हरिया, पहेँला चुरा र मेहेन्दीको रौनक पनि भित्रिसकेको छ । सामान्यतया अन्य समयमा भिडभाड फितलो देखिने सिन्धुलीमाढीका कस्मेटिक पसलहरुमा साउन महिना सुरु भएसंगै महिलाहरुको आवतजावत पनि बाक्लै देखिन थालेको छ ।

सदरमुकाममा लाग्ने हाटबजार, सडकका पेटिहरुहरु समेत रङ्गीबिरङ्गी चुराहरु, मेहेन्दीका साथै अन्य श्रृङ्गारका सामानहरुले सजिन थालेका छन् । अरु समयमा हरिया पहिरन, हरिया चुराहरु प्रति महिलाहरुले त्यति रुचि नदेखाए पनि साउन महिनामा त्यहि सामानहरु किन्न र बेच्न भ्याईनभ्याई छ । बालि लगाउने समय भएको हुदाँ कतिपय महिलाहरु रोपाई, मेलापात, अर्मपर्म सबै टुङ्ग्याई फुर्सदिलो भई साउनको लागि किनमेल गर्न बजार झर्ने गरेका छन् ।

साउनको महिना विवाहित तथा अविवाहित महिलाहरुको लागि निकै खास महिना हो । त्यस्तै श्रृङ्गारको सामानहरु बिक्री गर्ने व्यापारिहरुको लागि पनि साउन महिना अझै खास हो भन्दा फरक नपर्ला । यो महिनामा अरु समयमा भन्दा बढि मात्रामा हरिया कपडा, हरिया पहेँला चुरा पोते, मेहेन्दी लगायतका सामानहरु बिक्री हुने गर्दछ । यसले कस्मेटिक तथा व्यवसायीहरुलाई यतिबेला भ्याइनभ्याइ नै छ । अन्य व्यवसाय गर्ने व्यापारिहरुले पनि साउन महिनामा सिजन अनुकूलका कस्मेटिक पसलहरु राखि मुनाफा कमाउने अपेक्षा गरेका छन् ।

नेपाली परम्परा, संस्कृतिका साथै धार्मिक आस्था अनुसार विशेष मानिने साउन महिनामा नेपाली महिला तथा युवतीहरु हातमा मेहेन्दी, हरियो पहेँलो चुरा, हरियो कपडा लगाउने, वर्त बस्ने र  प्रत्येक सोमबार मन्दिर जाने गर्दछन् । विशेषतः विवाहित महिलाले पतिको सौभाग्यका रुपमा हरियो चुरा लगाउने गर्दछन् भने अविवाहित युवतीले पनि राम्रो वर प्राप्त होस् भन्ने हेतुले हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन रहेको छ । अझ लगाएको मेहेन्दीको जति धेरै गाढा रङ्ग बस्यो त्यति नै धेरै आफ्नो प्रेमी अथवा श्रीमानको प्रेम गहिरो हुने भन्ने मान्यता समेत रहेको छ ।

आँफैमा छुट्टै महत्व बोकेको साउन महिनाले नेपाली हिन्दु नारीहरुको आध्यात्मिक तथा धार्मिक आस्थालाई समेत प्रस्फुटन गर्ने गर्दछ । तर समय अगाडि बढ्दै गए संगै यी सबै कुराहरु कतिपय नेपाली महिला तथा युवतीहरुले एउटा फेसनको रुपमा मात्रै लिएको देख्न पनि सकिन्छ । परम्परागत मूल्य मान्यताका साथै धार्मिक पक्षको महत्वलाई त्यति गहिरिएर थाहा पाउन नखोज्दा नेपाली महिलाहरुले अरुको देखाशेखी गर्ने, फेसनको रुपमा लिने तथा टे«न्डलाई मात्रै पछ्याउन थालेको विषय पनि बहसकै घेरामा छ ।

हरिया पोशाक, हरिया पहेँला चुरा, मेहेन्दी साउनमा नै किन लगाउँछन् र यसको नेपाली समाजमा कति महत्व छ भन्ने बास्तविक कुरा थाहा पाउँन नसक्दा या थाहा पाउन चासो नगर्दा भोलिको पुस्ताले यसलाई ट्रेन्डको रुपमा मात्रै लिनसक्ने सम्भावना पनि उत्तिकै देखिन्छ । यसका लागि अहिले नै अभिभावकहरुले आफ्ना सन्तानहरुलाई यसबारे सचेत गराउनु अपरिहार्य छ ।

Hot Topics

Related Articles