Tuesday, November 4, 2025

लागु औषध सहित दम्पत्ती पक्राउ


सिन्धुली – सिन्धुलीमा लागु औषध सहित एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ४ ढुङ्ग्रेबासबाट लागु औषध खैरो हिरोईन राखी विक्री वितरण गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ दुई जना श्रीमान श्रीमतीलार्ई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको तीनपाटन गाउँपालिका वडा नम्बर ९ घर भई हाल कमलामाई नगरपालिका ४ ढुङ्ग्रेबासमा कोठाभाडा गरि बस्दै आएका २६ वर्षीय विनोद परियार र निजकै श्रीमती २४ वर्षीय अञ्जु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीलाई देख्ना साथ दुई जनाले आफुसंग रहेको प्लाष्टिकको पोकाहरु नजिकैको झाडीमा फ्याकेर भाग्न खोजेका थिए ।

दुईजनाले फ्याकेको उक्त सामान खोज्न जादाँ ४ वटा सेतो प्लाष्टिकको पोकाहरु फेला परेको र सो प्लाष्टिक खोली हेर्दा लागु औषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ रहेको सुवदीले बताउनुभयो । फेला परेको पदार्थ तत्कालै निजहरुकै रोहबरमा तौल गर्दा प्लाष्टिक सहित ५.५९० ग्राम र प्लाष्टिक बिना नै सबै खैरो हिरोईन जस्तो देखिने पदार्थ एकै ठाउँमा राखी तौल गर्दा ३.७३० ग्राम रहेको उहाँले जानकारी दिनुभयो ।

हाल बरामद गरिएको लागु औषध सहित दुई जना श्रीमान श्रीमतीलाई थुनामा राखी सिन्धुली जिल्ला अदालतबाट अनुसन्धान गर्न म्याद लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Hot Topics

Related Articles