Tuesday, November 4, 2025

सिन्धुलीमा ११ महिनाको अवधिमा २ सय भन्दा बढी सवारी दुर्घटना


आस्था बिश्वकर्मा,
सिन्धुली– आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा सिन्धुलीमा २ सय भन्दा बढी सवारी साधन दुर्घटनामा परेका छन् । चालु आर्थिक वर्षको साउन देखि जेठ मसान्त सम्म २ सय ५४ सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग सहित जिल्लाका भित्री सडकहरुमा ११ महिनाको अवधिमा उक्त संख्यामा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा २२ वटा सवारी दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ भने २४ जना गम्भीर र १९ जना सामान्य घाईते भएका छन् । त्यस्तै भदौमा १० वटा सवारी दुर्घटनामा पर्दा २ जनाको मृत्यु, ३ जना गम्भीर र १२ जना सामान्य घाईते भएका छन् ।

त्यस्तै असोजमा २३ वटा सवारी दुर्घटना हुदाँ ३ जनाको मृत्यु, ८ जना गम्भीर र ९२ जना सामान्य घाईते भएका छन् । कार्यालयका अनुसार कात्तिकमा ११ वटा सवारी दुर्घटनामा परेका छन् । जसमा २ जना गम्भीर घाईते र ११ जना सामान्य घाईते भएका छन् । सवारी दुर्घटनामा परी कात्तिक महिनामा कुनै पनि व्यक्तिको मृत्यु नभएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तथ्यांक अनुसार मंसिरमा २३ वटा सवारी दुर्घटना हुदाँ ४ जनाको मृत्यु, ९ जना गम्भीर र २२ जना सामान्य घाईते भएका छन् । पुसमा २७ वटा सवारी दुर्घटनामा पर्दा ३ जनाको मृत्यु, २२ जना गम्भीर र २० जना सामान्य घाईते भएका छन् । माघमा २६ वटा सवारी दुर्घटना हुदाँ ४ जनाको मृत्यु, ११ जना गम्भीर र ४५ जना सामान्य घाईते भएको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुण महिनामा २७ वटा सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु, ३ जना गम्भीर र ४५ जना सामन्य घाईते भएका छन् । त्यस्तै चैतमा ३४ वटा सवारी दुर्घटनामा पर्दा ३ जनाको मृत्यु र ५९ जना सामान्य घाईते भएका छन् । कार्यालयको तथ्याङ्क अनुसार जेठ मसान्तसम्म सबै भन्दा बढी चैत महिनामा सवारी दुर्घटना भएको छ ।

बैशाखमा २७ वटा सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु र ६२ जना सामान्य घाईते भएका छन् भने जेठमा २४ वटा सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु, ९ जना गम्भीर र ३१ जना सामान्य घाईते भएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार ११ महिनाको अवधिमा भएका दुर्घटनामा परी ६ वटा चौपाया मरेका छन् ।

गएको आर्थिक वर्षको भन्दा यस वर्ष सवारी दुर्घटनाको संख्या निकै बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको तीन ठूला राजमार्गमा गुड्ने सवारी मध्ये सबै भन्दा धेरै मोटरसाईकल दुर्घटनामा पर्ने गरेको तथ्याङ्कमा पाईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी साधन दुर्घटनामा पर्नुको मुख्य कारण मापसे र तीव्र गति नै रहेको छ । ट्राफिक प्रहरीले दैनिक रुपमा भईरहेका सडक दुर्घटनालाई कम गर्न जिल्लाका ९ वटै स्थानीय तहहरुमा दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतनामूलक होडिङ बोर्ड, सडक नाटक तथा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

प्रहरीले सवारी साधन चालक अनुमतिपत्र भए नभएको उचित अनुसन्धान गरि आवश्यक कारबाही समेत गर्दै आईरहेको छ । सडक दुर्घटनालाई रोक्न सवारी चालक तथा आम नागरिककोे ठूलो भूमिका रहने कुरामा दुईमत छैन । चालकले सवारी गुडाउनु भन्दा पहिले आवश्यक परिक्षण गर्नुपर्ने, मापसे गरेर गाडी नचलाउने, सिमित गतिमा गाडी चलाउने, मोटरसाईल तथा स्कुटर चालकले हेलमेट लगाउने गर्नाले पनि सवारी दुर्घटनाबाट बच्न सकिने प्रहरीले जनाएको छ ।

पैदल यात्रीहरुले पनि बाटो काट्दा उचित ध्यान दिन ट्राफिक प्रहरीले आग्रह गरेको छ । सडक दुर्घटना न्यूनिकरणका लागि प्रहरी कार्यालयले वर्षेनी निकै रकम खर्चेर सचेतनामूलक कार्यक्रमहरु सन्चालन गरिरहेको देखिन्छ । तथापि अधिकांस दुर्घटनाहरु चालककै लापरर्बाहीका कारण भैरहको प्रहरीको तथ्यांकले देखाउँछ ।

Hot Topics

Related Articles