Friday, October 10, 2025

बढ्दो तापक्रमका कारण जनजीवन कष्टकर

आस्था बिश्वकर्मा, सिन्धुली – पछिल्लो केहि दिनयता गर्मी बढे संगै सिन्धुलीका स्थानीयहरुको जनजीवन कष्टकर बन्दै गइरहेको छ । पश्चिमी वायु प्रबल भई मनसुन निष्क्रिय भए संगै देशका धेरै ठाउँहरुमा अत्याधिक गर्मी बढी जनजीवन प्रभावित बन्दै गएको हो ।

तापक्रम वृद्धि भए संगै हावा नचल्ने र चलिहाले पनि तातो हावा चल्ने जस्ता समस्या उत्पन्न भएको हुदाँ मानिसहरुको दैनिकी निकै कष्टकर भएको छ । शैक्षिक सत्र त सुरु भयो तर प्रचण्ड गर्मीकै कारण विद्यालयहरु बन्द गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । अत्याधिक गर्मीका कारण विद्यार्थीहरु अलाश्य हुने, बेहोस हुने, श्वास प्रश्वासमा असर पर्ने भएको हुदाँ अहिले जिल्लाको कमलामाई नगरपालिकाले मातहतका सामुदायिक तथा संस्थागत विद्यालयहरु जेठ २८ गते देखि ३० गते सम्म पूर्णरुपमा बन्द गर्ने निर्देशन दिएको छ ।

बढ्दो तापक्रमका कारण उद्योग व्यवसाय, खेती किसानी तथा दैनिक रुपमा मजदुरी गरी आफ्नो जीविकोपार्जन गर्दै आइरहेका मानिसहरु समेत निकै मारमा परेका छन् । लगाएका फसलहरु खेतमै सुकिरहेका छन् । उच्च तापक्रमले पानीको मुहानहरु सुकी मानिसहरुको दैनिकी कठिन बन्दै गएको छ ।

कमलामाई भित्रै ठेलामा मकै पोलेर बेचि आफ्नो दैनिक गुजारा चलाउदै आउनुभएका उमेश मगरले घाममा उभिएर आगोमा मकै पोलि बेच्नलाई धेरै गाह्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आम्दानीको स्रोत यहि भएको हुदाँ घाम, पानी नभनि काम गर्नै प¥यो । विगत केहि दिन देखि एमदमै गर्मी बढेको छ । घाममा आगोको रापमा बसि जसोतसो मकै त पोलिन्छ तर गर्मीका कारण रापमा पोलेको मकै किनेर खाने चाहि कोहि हुदैनन् । जसकारण सबै मकै त्यतिकै राखी खालि हात घर फर्किनु पर्छ ।”

त्यस्तै गर्मी कै कारण आफ्नो पसलमा बेच्न ल्याइएका फलफुलहरु धेरै जसो सड्ने, कुहिने भएको हुदाँ ठुलो घाटा बेर्होनु परेको कमलामाई नगरपालिका ६ को लोकतान्त्रिक चोक अगाडी फलफुल पसल सञ्चालन गर्दै आइरनुभएका प्रकाश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यापारकै लागि भनेर भारि मात्रामा फलफुल मगाएर बेच्न राख्यो तर यो बढ्दो तापक्रमले गर्दा सबै फल बिगे्रर नष्ट हुन्छन् । के गर्नु यति धेरै फलहरु फ्रिजमा राख्न पनि सकिन्न ।”

उच्च तापक्रमले व्यवसायमा मात्रै हैन मानिसहरुको स्वास्थ्यमा पनि प्रतिकुल असर पारेको छ । गर्मीकै कारण आफ्नो स्वास्थ्य बिग्रिएको भन्दै अस्पतालमा बिरामीहरुको चाप बढेको सिन्धुली अस्पतालका व्यवस्थापक अधिकृत बिमल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार केहि साता देखि दैनिक रुपमा ५ सयको हाराहारीमा झाडा पखाला, ज्वरोका कारण अस्पतालमा उपचारको लागि मानिसहरु आउने गर्छन् । जसमा पनि दैनिक ४ देखि ५ जना इर्मेजेन्सी वार्डमा भर्ना हुने गरेका श्रेष्ठले बताउनुभएको छ ।

अत्याधिक गर्मीले मानिसहरु धेरै बिरामी हुने भएकाले शुद्ध पानी प्रशस्त पिउने, अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कने, खानपिनमा पनि राम्रो ध्यान दिनुपर्ने चिकित्सनहरुको सुझाव रहेको छ ।

Hot Topics

Related Articles