Wednesday, October 15, 2025

महिला पाठेघर तथा स्तन क्यानसर स्क्रिनिङ्ग सम्बन्धिको निशुल्क स्वास्थ्य शिविरबाट ५१० जना लाभान्वित, ५ जनालाई सक्रमंण पुष्टि

सिन्धुली– सिन्धुली अस्पतालमा आयोजित महिला पाठेघर तथा स्तन क्यानसर स्क्रिनिङ्ग सम्बन्धिको निशुल्क स्वास्थ्य शिविर बाट ५१० जना लाभान्वित भएका छन् । शनिबार भक्तपुर क्यान्सर अस्पतालको आयोजना तथा सिन्धुली अस्पतालको समन्वयमा जिल्ला अस्पतालमा स्त्री रोग अन्तर्गत महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग सम्बन्धिको निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ५१० जना महिलाको स्वास्थ्य परिक्षण गर्दा ५ जना महिलाको पाठेघरको भिआईए टेस्ट पोजेटिभ देखिएको र तुरुन्तै भक्तपुर अस्पतालमा रिफर गरिएको अस्पताल सञ्चालक समितीका अध्यक्ष सतिश चन्द्र ढकालले जानकारी दिनुभयो । सिन्धुलीमा पाठेघर तथा स्तन क्यानसर सम्बन्धि रोगको अवस्था जान्न यस शिविरको आयोजना गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“नेपालमा पाठेघर तथा स्तन क्यान्सरले दैनिक ३ देखि ४ जनाको मृत्यु भइरहेको हुनाले के रहेछ त सिन्धुलीको अवस्था थाहा पाउनलाई शिविरको आयोजना गरिएको हो ।”

शिविरमा पाठेघरको क्यान्सरका लक्ष्यणहरु जस्तै महिनावारी बाहेक अन्य समयमा रगत बग्ने, महिनावारीको समय धेरै रगत जाने वा धेरै दिनसम्म रगत जाने, तल्लो पेट धेरै दुख्ने, यौन अंगबाट फोहोर पानि जाने, महिनावारी सुकेपछि पनि रगत बग्ने समस्या तथा यौन सम्पर्कको समयमा धेरै दुख्ने वा रगत बग्ने समस्या र स्तन क्यान्सरका लक्ष्यणहरु जस्तै स्तन दुख्ने, स्तनमा गाठागुठि आउने, स्तन वरिपरीको छालामा परिवर्तन आउने, स्तनको मुन्टोमा घाउ आउने, स्तनको मुन्टोबाट रगत वा पानि बग्ने समस्या, स्तनको आकारमा परिवर्तन आउने तथा स्तन वरीपरि रातो भएमा वा सुन्निने लगायतका समस्या भएका महिलाले शिबिरमा निःशुल्क परिक्षण एबम परामर्श लिएका आयोजक टिमले जनाएको छ ।

जिल्लामा सञ्चालन गरिएको १ दिने निशुल्क शिविरबाट सबै भन्दा धेरै कमलामाई नगरपालिकाका महिलाहरुले सेवा लिएका छन् । अस्पताल सञ्चालक समितीका अध्यक्ष ढकालका अनुसार महिला पाठेघर तथा स्तन क्यानसर स्क्रिनिङ्ग सम्बन्धिको स्वास्थ्य शिविर वार्षिक रुपमा सञ्चालक गरिने छ ।

Hot Topics

Related Articles