सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ४ चाईचुट्टी स्थित मझिनी दमार–बखफर सडकको शिलान्यास गरिएको छ । मंगलबार आयोजिक एक कार्यक्रमका विच वडा नम्बर ४ स्थित चाईचुट्टीमा लामा गुरुबाट पूजापाठ गरी सडककोे शिलान्यास गरिएको हो ।


स्थानिय पुवार्धार विकास आयोजना कार्यालय हेटौडाको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा भएको शिलान्यास कार्यक्रमका गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन ) को प्रमुख आतिथ्यता रहेको थियो । संघिय सरकारबाट विनियोजित १ करोड बजेट मार्फत सडक निर्माणको कार्य थालनि गरिएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन ) ले सरकार परिवर्तनका कारण सिन्धुलीका विभिन्न सडकलाई बहुवर्षीय योजनामा लैजान नसकेको बताउनुभएको छ । उहाँले गुणस्तरीय काम र समयमा काम भए नभएकोबारे सबैले निगरानी गर्नुपर्नेमा पनि जोड दिनुभयो । यहाँको खानेपानी र सिँचाइको समस्यालाई सम्बोधन गर्ने योजना बनाउन आग्रह गर्नुहुँदै सांसद दाहालले बजेट व्यवस्थापन गरिदिने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै अथक प्रयास पश्चात् गाउँपालिकाकै भौगोलिक जटिलताले पिछडिएको ठाउँमा ड्रेन सहित सडक ढलानको लागि बजेट विनियोजन गराउन सफल भएको भन्दै हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाले खुसी ब्यक्त गर्नुभयो । उहाँले चाइचुट्टिमा सिँचाईको लागि योजना निर्माण भइरहेको बताउनुहुँदै चाँडैनै यहाँका किसानलाई सिँचाईको लागि पानी उपलब्ध गराइने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, गाउँपालिकाका प्रवक्ता तथा ४ नम्बर वडाका अध्यक्ष कमल राई, ५ नम्बर वडाका अध्यक्ष साईला लामा, ३ नम्बर वडाका अध्यक्ष कुल बहादुर भोलन, ७ नम्बर वडाका अध्यक्ष बिच बहादुर मोक्तान, ८ नम्बर वडाका अध्यक्ष धन बहादुर मोक्तान लगायत पार्टी प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।