सिन्धुली – सिन्धुलीमा यहि बैशाख ११ गते देखि फुड फेस्टीभल (महोत्सव) सञ्चालन हुने भएको छ । ब्रदर हुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीको आयोजनामा २०८२ बैशाख ११ गते देखि २१ गते सम्म “पर्यटन, साँस्कृतिक व्यापार, उद्योग तथा फुड फेस्टीभल २०८२” (महोत्सव) सिन्धुलीको खुल्लामन्चमा हुने भएको हो ।

मनोरञ्जन क्षेत्रलाई विशेष प्राथमिकताममा राख्दै जिल्लामा पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ फुड फेस्टीभल (महोत्सव) को आयोजना गरिएको ब्रदर हुड इभेन्ट एण्ड इन्टरटेन्भमेन्ट सिन्धुलीको म्यानेजिङ डाइरेक्टर कविराज सुनुवारले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो । फुड फेस्टीभलमा सिन्धुलीको पहिचान झल्काउने स्थानिय उत्पादनलाई विशेष प्राथमिकतामा राख्दै नेपाली परिकार देखि अन्तर्राष्ट्रिय खाना स्टल राखिनेछ । स्थानीय गन्तव्यहरुको प्रचार तथा जानकारीमूलक प्रदर्शनीका साथै बालबालिकाको लागि खेल, झुलाहरुको पनि व्यवस्था गरिने म्यानेजिङ डाइरेक्टर सुनुवारले बताउनुभयो ।

फेस्टीभलमा स्थानिय तथा राष्ट्रिय स्तरका चर्चित तथा लोकप्रिय कलाकार एवम् व्यान्डहरुको सांस्कृतिक प्रस्तुतीका साथै हास्य व्यङ्ग संगै बेजोड मनोरञ्जनात्मक प्रस्तुती रहने छ । जिल्ला भरिका कृषिजन्य उत्पादनको व्यापारका लागि फेस्टीभलमा स्टलहरु निशुल्क उपलब्ध गराइने छ ।

११ दिन सम्म सञ्चालन हुने उक्त फेस्टीभलमा अन्दाजी २५ हजार भन्दा बढी दर्शकहरु अवलोकन गर्न आउने आङ्कलन गरिएको छ भने ७५ लाख खर्च लाग्ने अनुमान रहेको ब्रदर हुड इभेन्टका एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीका अध्यक्ष अश्विन जगं थापाले जानकारी दिनुभयो ।

फेस्टीभलमा प्रवेश शुल्क प्रतिव्यक्ति ८० रुपैयाँ लाग्ने छ भने स्थानिय पासकार्डको प्रतिव्यक्ति ३ सय रुपैयाँ तिर्नुपर्ने छ । साथै ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएको व्यक्तिले निशुल्क प्रवेश गर्न पाउने छन् भने विद्यार्थीको केहि छुट हुने छ । फेस्टीभल विहान ९ बजे देखि बेलुका ९ बजे सम्म सञ्चालन हुने आयोजक टिमले जनाएको छ ।

ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुली २०७५ सालमा दर्ता भई मनोरञ्जनको क्षेत्रलाई प्राथमिकतामा राखि सिन्धुली जिल्लामा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।