सिन्धुली – सिन्धुली कलाघरले जिल्ला मै पहिलो चोटि राष्ट्रिय कला महोत्सव संचालन गर्ने भएको छ । “नमुना कला संग्रहालय सिन्धुली कला घर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔँ” भन्ने मुल नाराका साथ चैत्र २८ गते देखि वैशाख ३ गतेसम्म निर्माणाधिन सिन्धुली कलाघरको परिसरमा राष्ट्रिय कला महोत्सव सञ्चालन गर्ने भएको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीमा रहेको कलाघरले कला घर निर्माणको अभियानमा हातेमालो संगै मौलिक कला संस्कृतिको प्रबर्धन तथा कलाघरको कलाको प्रचार गर्ने उद्देश्यका साथ राष्ट्रिय कला महोत्सवको आयोजना गर्न लागिएको कलाघरका संस्थापक अध्यक्ष सुमन थापा मगरले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो । उक्त महोत्सवमा १० हजार जना भन्दा बढी दर्शकहरु अवलोकनमा आउने अपेक्षा गरिएको अध्यक्ष मगरले बताउनुभयो ।

महोत्सवमा १० भन्दा बढी जातजातिको झाकी प्रदर्शन, मैलिक पराम्परा झल्कने घरहरुको नमुना बनाई मौलिक खानेकुराहरुको परिकार प्रदर्शन, हस्तकला, चित्रकला, मुर्तीकला लगायत कलाहरुको प्रदर्शन तथा व्यापार, विद्यार्थी निर्मीत विज्ञान तथा कला प्रदर्शन, स्थानिय कृषि उत्पादनको प्रदर्शन तथा व्यापार, मार्शलआर्टक विभिन्न विधाको खेल प्रदर्शन, दर्शक स्वयम्ले सहभागिता जनाउने गरि विभिन्न मौलिक तथा मनोरञ्जनात्मक खेलहरु, जिल्ला स्तरीय विद्यालय विच नृत्य, गायन तथा चित्रकला प्रतियोगिता हुने छ ।

साथै कला घर स्थापनाकाल देखि आर्थिक, भौतिक नैतिक रुपमा सहयोग गर्ने व्यक्ति र संघ संस्था, सञ्चारकर्मी तथा सरकार एवम् जिल्लाका क्रियाशिल मौलिक झाकी संस्कृती समुहरु लाई समेत सम्मान गरिने अध्यक्ष मगरले बताउनु भएको छ ।

कलाकारहरुको आश्रमको रुपमा विकास हुदैँ गएको कलाघरद्धारा आयोजित महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको उपस्थीतिमा मनोरञ्जनात्म कार्यक्रम हुने छ । साथै महोत्सव अवधिभर हरेक दिन बेलुका कलाघरको युटुब तथा रेडियोबाट प्रशारण हुने गरी लाइभ दोहोरी कार्यक्रम सञ्चालन गरिने छ ।

महोत्सव सफल बनाउन जिल्लका ९ वटै स्थानिय तह तथा सिन्धुली उद्योग वाणिज्य संंघ एवम् जिल्लाका व्यापार व्यवसायीहरुको सहयोग रहने अध्यक्ष मगरले जानकारी दिनुभयो ।

विश्वको १९५ देशलाई कला मार्फत सजाई वल्र्ड आर्ट हाउसको रुपमा विकास गर्ने दीर्घकालिन योजना लिएको कलाघर सिन्धुलीले कला, सिर्जनाको आविष्कार केन्द्र तथा साँस्कृतिक विद्यालयको रुपमा विकास गर्ने अध्यक्ष मगरले बताउनुभयो ।