सिन्धुली – सिन्धुलीमा सञ्चालन भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव २०८१ को दोस्रो दिनमा कबड्डी खेलका उत्कृष्ट प्रतिस्पर्धी पालिका फाइनलमा प्रवेश गरेका छन् । ‘राष्ट्रका लागि खेलकुद तथा स्वास्थ्यको लागि खेलकुद‘ भन्ने नाराका साथ सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव २०८१ को मंगलबार दोस्रो दिन विभिन्न बिधामा खेल प्रतियोगिता भएको थियो ।

जसमध्ये दोस्रो दिन कबड्डी मा महिला तर्फ हरिहरपुरगढी गाउँपालिका र कमलामाई नगरपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा २१÷५२ को अन्तरले हरिहरपुरगढीलाई पछि पार्दै कमलामाई नगरपालिका फाइनलमा प्रवेश गरेको छ । त्यस्तै सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिका बिच भएको प्रतिस्पर्धामा ३३÷५६ को अन्तरले गोलन्जोर पछि पार्दै सुनकोशी गाउँपालिका फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

यसैगरि पुरुष तर्फ दुुधौली नगरपालिका र गोलन्जोर गाउँपालिका विच प्रतिस्पर्धा भएको थियो । जसमा ३६÷५६ को अन्तरमा गोलन्जोर गाउँपालिका लाई पछि पार्दै दुधौली नगरपालिका फाइनलमा प्रवेश गरेको छ । त्यस्तै कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिका बिच भएको प्रतिस्पर्धामा ३१÷४० को अन्तरले कमलामाई नगरपालिकालाई पछि पार्दै सुनकोशी गाउँपालिका फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

फागुन १३ गते सम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सवको दोस्रो दिन कबड्डी, कराते, ३००० मिटर दौड, २०० मिटरको दौड, हाइजम्प, ४०० मिटर दौड रिले, लङजम्प लगायतका खेलहरु भएको थियो । खेलमा विभिन्न विधाका १ हजार ३ सय ३३ खेलाडी सहभागी भएका छन् । फागुन ५ गते देखि १३ सम्म सञ्चालित खेलकुद महोत्सब प्रतियोगितामा भलिबल, फुट्बल, क्रिकेट, व्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स, म्याराथन, बक्सिङ गरि १० वटा खेलहरु हुने छन् ।