काठमाण्डाै – सर्लाहीकाे हरिपुर नगरपालिका–१, हजारविघामा जङ्गली हात्तीले किसानको अन्न र उखुबाली नष्ट गरेको छ । तीन वटाको सङ्ख्यामा रहेका जङ्गली हात्तीले गाउँ छिरेर मकै र उखु बालीमा क्षति पुर्याएको हो ।

गएराति हात्तीले स्थानीय मुना लाह्योको कच्ची घर पनि भत्काएको छ । घरमा भएको अन्न खाएर नष्ट गरेको पीडितको गुनासो छ । त्यसैगरी निर्माला कार्की, अष्टम खड्का, गोपाल बस्नेतलगायतको मकै, गहुँ र उखु बाली पनि नष्ट गरेको छ । जङ्गली हात्ती दिनभर जङ्गलमा बस्ने र राति गाउँमा प्रवेश गरेर बाली नोक्सान गर्ने गरेको स्थानीय बासिन्दा अशोक विमलीले बताउनुभयो ।

रातमा जङ्गली हात्ती गाउँमा पस्न थालेपछि आफूहरु त्रसित भएको पीडितले गुनासो गरेका छन् । हरिपुर नगरपालिका–१, जानकीनगरको जङ्गलमा जङ्गली हात्ती पसेपछि सावधानी अपनाउन सव–डिभिजन वन कार्यालय मुर्तियाले स्थानीयबासिन्दालाई अनुरोध गरेको छ । एक वर्षअघि, जङ्गली हात्तीले घुर्कौलीमा एक जनाको ज्यान लिएको थियो ।