सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका–५ सिन्धुकोट गाउँका मेहनती कृषकको रुपमा चिनिएका कृष्णजंग रायमाझीले व्यवसायिक रुपमा फलफूल खेती गरेको नौ वर्ष पुग्यो । करिब ३१ वर्ष शिक्षण पेसामा होमिएपछि अवकाश पाएका उनी अहिले ६० वर्ष लागे । तर, रायमाझीको जाँगर र उत्साह कुनै युवाभन्दा कम छैन।

अहिलेसम्म सहकारीबाट ऋण र आफ्नो गरी ९० लाख लगानी गरिसकेका रायमाझीले आगामी दुई वर्षमा फलफूल खेतीबाट आफ्नो लगानी र मेहनतको फल उठाइसक्ने योजना बनाएका छन् । यसपटक बगैँचामा उत्पादित १० टन सुन्तला, जुनार र कागती बोलेरोबाट राजधानीका विभिन्न स्थानमा बिक्रीका लागि पुर्याइसकेको उनले बताए ।

यसपटक ८ लाख बराबरको सुन्तला, जुनार र कागती बेचिसकेको उनले बताए । ‘फलफूललाई आम्दानी दिन कम्तिमा चार या पाँच वर्ष लाग्छ । फलस्वरुप हाम्रो चार वर्षर्बाट फल दिन थालेको भए पनि राम्रोसँग आम्दानी दिन पाँच वर्ष लाग्यो,’ उनले भने । पहिलो दुई वर्षमै कागती ५ हजार किलो फलेको रमाइलो क्षण उनी अझै सम्झन्छन् । कागतीको माग ज्यादै भएकाले भनेजति पुर्याउन नसकेको उनले जनाए ।
रायमाझी भन्दा कम छैनन् जाँगरिला सुनकोर्सी गाउँपालिका–६ पाखरदोभान गाउँका ५७ वर्षेर् रेशम भण्डारी । ०७१ सालबाट उनले पाँच रोपनी जमिनमा व्यवसायिक रुपमा फलफूल खेती थालेको बताए । ‘चार रोपनीमा लिचि र चार रोपनीमा एबोगाडो कफी लगाएको छु, मल सिँचाइसहित विभिन्न गरी ११ लाख लगानी भइसकेको छ,’ भण्डारीले भने ।

उनको बगैचामा यहाँ वार्षिक ३ हजारदेखि ३२ सय किलो लिची फल्ने गरेको छ । ६० लिचि, ५२ एभोकाडो र बिमिरो दुई सय बोट खेतमा लगाइएको उनले जनाए । ‘लिची, एभोकाडोजस्ता फलफूल बेचेर वार्षिक ७ लाख आम्दानी हुने गर्छ, मजस्ता धेरै किसान व्यवसायिक रुपमा फलफूल खेतीमा होमिएका देखिन्छन्, सरकारले किसानका लागि खास केही गरेको देखिँदैन,’ उनले भने ।
चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेका भोजबहादुर कार्की भूकम्पअघि फलफूल खेतीमा होमिएका थिए । आफूले रहरमा १० रोपनीमा जग्गामा दुई सय बोट सुन्तला, जुनार र अन्य फलफूलले सजिएर भव्य बगैंचा बनेको उनले बताए ।

‘सुन्तलाबाट मात्रै नभइ फलफूलबाट वार्षिर्क चारदेखि पाच लाख कमाउन सकिन्छ,’ कार्कीर्ले भने । ईन्द्रावती गाउँपालिका वडा ८ र ९ भोटसिपाका ऋषिराम भट्टराई, राजेन्द्र आचार्यले २० रोपनीमा पाँच सय बोट अनार लगाएका छन् ।
बाह्रबिसे नगरपालिका–९ राम्चे ठोटनेरीका फलफुल कृषक नवराज थापाले फलफूलबाट आम्दानी भए पनि किरा लाग्ने र बिग्रने समस्याले सताउने बताए । ‘सुन्तला स्थानीय बजारको मात्र भर परेर हुन्न, यसका लागि काठमाडौं रोज्नुपर्छ,’ थापाले भने । थापाले तीन रोपनीमा सुन्तला, जुनार, मौसम लगाएका छन् ।

कृषि ज्ञान केन्द्र काभ्रेका अनुसार ५ सय ४२ हेक्टर क्षेत्रफलमा लगाइफलफूल वार्षिक झण्डै तीन हजार मेट्रिक टन उत्पादन हुने गर्छ । सिन्धुपाल्चोकमा ०७९/०८० मा नौसय ७० मेट्रिकटन सुन्तला र जुनार जात उत्पादन भएको छ । सिंगो जिल्लाबाट अनुमानित १० करोड बराबरको फलफूल मात्रै उत्पादन भएको तंथ्याक छ ।