सिन्धली– सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ३ का किसानहरू यसपालि आलुको राम्रो उत्पादन हुँदा अत्यन्तै खुशी छन्। यो वर्षको अनुकूल मौसम र मेहनती खेतीपातीको कारण आलुको उत्पादनले सबैको अपेक्षाभन्दा राम्रो नतिजा दिएको छ।


सुनकोशीका हरिया खेतहरूमा अहिले किसानहरू आलु खन्न र संकलन गर्न व्यस्त देखिन्छन्। महिला र पुरुष किसानहरूले एउटै जोशका साथ माटोको गर्भबाट रातो आलु निकाल्दै छन्। स्थानीय तथा बाहिरी बजारमा धेरै माग रहेको यो प्रकारको आलु किसानहरूको मेहनत र धरतीको उपहारको प्रतिफल हो।
स्थानिय किसान पुष्पालाल श्रेष्ठ उत्साहित हुँदै बताउहुन्छ, “यस वर्षको उत्पादन देखेर हामी धेरै खुशी छौं। यो हाम्रो मेहनत र प्रकृतिको सहयोगको प्रत्यक्ष उदाहरण हो।”

किसानहरू उत्पादन भएको आलुलाई ठूला बोरामा प्याक गरी बजारतर्फ पठाउने तयारीमा छन्। यहाँबाट काठमाडौं को बजार नजिकै हुदा व्यापारीहरू खेतमै आउने गरेको र स्थानीय ब्यापारी हरुले पनि लिएर जाने गरेका छन्, जसले यस क्षेत्रको अर्थतन्त्रमा टेवा पुर्याउनेछ।

राम्रो उत्पादनले स्थानीय परिवारहरूको घरायसी आवश्यकता मात्र नभई आम्दानीको स्रोत पनि वृद्धि गरेको छ।यस वर्षको राम्रो नतिजा खेती योग्य जमिन, छर–छिमेकी किसान हरुको एकता को कारण अर्मपर्म गरि एकर्काको खेती लगाउने तथा बटुल्ने तरिका, समयमै गरिएको सिंचाइको प्रयोगलाई मानिएको छ।

किसानहरुको भनाई अनुसार यहाँ सरकार बाट पनि केही सहयोग पाउने हो भने अझै उत्पादन लाई बढाउन र अर्थतन्त्र बलियो बनाउन सकिने अपेक्षा छ। यो आलु संकलनको व्यस्तता र मेहनतको साथ, सुनकोशीका किसानहरूको अनुहारमा खुशीको झल्को छ। भविष्यमा अझ राम्रो उत्पादन हुने आशामा उनीहरू उत्साहित छन्।

यस सफल उत्पादनले यस क्षेत्रको कृषि विकासमा थप योगदान पुर्याउँदै किसानहरूको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ।


