सिन्धुली– सिन्धुलीमा आइतबार आयुर्वेद निकायहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुलीमा आयोजित अर्धवार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा को प्रमुख आतिथ्यतता तथा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुलीका कार्यलय प्रमुख दिपक राज तिमल्सिनाको अध्यक्षता रहेको थियो ।

समिक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुदै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले आयुर्वेदिक पद्धतिलाई स्थानिय सरकारले त्यति ध्यान नदिएको बताउनुभएको छ । उहाँले जति सुकै विकास गरेता पनि मानिस नै स्वस्थ र निरोगी नभए गरेका ती कुनै पनि बिकास काम नलाग्ने बताउनुभयो । आयुर्वेदिक पद्धतिले मानिसहरुलाई खानपिन र स्वस्थ आहारमा ध्यान दिन प्रेरित गर्ने र बिरामीलाई प्राकृतिक रुपमा सहज तरिकाले उपचार गर्ने भएको हुदाँ आयुर्वेदको विषयमा संचार माध्यमले पनि प्रचार प्रसारलाई अगाडि बढाउनु पर्ने र राम्रो जानकारी नभएका मानिसहरुलाई पनि बुझाउनु पर्नेमा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख लामाले जोड दिनुभयो ।

स्थानिय सरकारले बेवास्ता गरेता पनि आयुर्वेद प्रविधिले नागरिकलाई बिश्वस्तता गराउँदै चालु आर्थिक वर्षमा कम्तिमा जिल्लाका ३० हजार नागरिकलाई सेवा दिने लक्ष्यका साथ अगाडि बढ्ने आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुलीका कार्यलय प्रमुख दिपक राज तिमल्सिनाले बताउनुभयो । उहाँले घ्याङलेख गाउँपालिका र तीनपाटन गाउँपालिका बाहेक अन्य स्थानिय तहहरुले आयुर्वेद स्वास्थ्य पद्धतिलाई बजेट विनियोजनमा वास्ता नगरेको गुनासो व्यक्त गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको मंसिर मसान्त सम्ममा १३ हजार जना भन्दा बढीले मानिसहरुले सेवा लिई सकेको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्लाको पालिकाहरुमा भएका आयुर्वेद स्वास्थ्य केन्द्रहरु तथा नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।